धनगढी, १८ असोज / कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडा ‘डी’ गाउँमा यही असोज २५ गतेदेखि रामलीला सुरु हुने भएको छ। रामलिला तथा सांस्कृतिक कार्यक्रम २०८३ गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।
जुगेडा राइजिङ युवा क्लब र निःशुल्क ज्येष्ठ नागरिक चियाघरको संयुक्त आयोजनामा रामलीला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुन लागेको हो।
आयोजकका अनुसार हिन्दू धर्म तथा संस्कृतिको महत्वपूर्ण धार्मिक ग्रन्थ रामायणमा आधारित भगवान् श्रीरामको जीवन, आदर्श, सत्य, धर्म, न्याय, कर्तव्य, त्याग, प्रेम, अनुशासन तथा सामाजिक मूल्य–मान्यतालाई नाटकीय प्रस्तुतिमार्फत नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
यस्तै, धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने, स्थानीय कलाकार तथा युवाको प्रतिभा प्रस्फुटन गराउने र बालबालिका तथा आम समुदायलाई सांस्कृतिक गतिविधिमा सहभागी गराउने उद्देश्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रमले समाजका विभिन्न वर्ग तथा समुदायबीच आपसी सद्भाव, सहकार्य, भाइचारा र एकताको भावना विकास गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। युवालाई सामाजिक, धार्मिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय गराई सकारात्मक परिवर्तनमा सहभागी गराउने लक्ष्यसमेत आयोजकको छ।
रामलिला तथा सांस्कृतिक कार्यक्रम आयोजक समितिले सबैलाई सहयोग गर्न समेत अनुरोध गरेका छ ।