डडेल्धुरा, २९ असोज ।
डडेल्धुरा अस्पताल अहेबको भरमा सञ्चालन भइरहेको छ । उपक्षेत्रीय अस्पतालबाट स्तरवृद्धि भई संघीय सरकार मातहत आए पनि दरबन्दीअनुसार चिकित्सक नहुँदा अस्पताल अहेवको भरमा सञ्चालन भइरहेको छ ।
डडेल्धुरा अस्पतालमा कार्यरत डा। जीवन खरेल समायोजन भई मेडिकल कलेज भरतपुर चितवन गएका र निमित्त मेडिकल सुपरिटेन्डन डा। जितेन्द्र कँडेल सुत्केरी स्याहार बिदामा गएपछि डडेल्धुरा अस्पताल अहेवको भरमा पुगेको हो ।
सरकारले सात वर्षअघि टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरालाई गाभेर उप–क्षेत्रीय अस्पताल घोषणा गरेको थियो । उप–क्षेत्रीय अस्पताल घोषणा भएदेखि नै अस्पतालमा चिकित्सक अभाव हुन थालेको हो । अस्पतालबाट सामान्य उपचारसमेत पाउन छाडेको सर्वसाधारणको गुनासो छ ।
दरबन्दी अनुसारका चिकित्सक र दक्ष जनशक्ति नहुँदा डडेल्धुरालगायत सुदूरपश्चिमका सात जिल्लाका बिरामी उपचारका लागि कैलाली, कञ्चनपुर, नेपालगन्ज, काठमाडौं र भारतका अस्पताल पुग्न बाध्य छन् ।
फागुन ०७५ मा सरकारले देशका ५ अत्याधुनिक अस्पतालभित्र डडेल्धुरा अस्पताललाई पनि पारेको थियो । यसका लागि भौतिक संरचना पनि निर्माण भइरहेको छ । भौतिक संरचना निर्माणसँगै उपचार सेवा पनि अत्याधुनिक बनाउनुपर्ने स्थानीयको माग छ । डडेल्धुरा अस्पतालमा ४२ विशेषज्ञ चिकित्सक, दुई सयभन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, अस्पतालमा एकजना पनि विशेषज्ञ चिकित्सक छैनन् ।