एजेन्सी/दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्। स्थानीय सिभिल डिफेन्स एजेन्सीको पछिल्लो प्रतिवेदनले पनि बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या २०० भन्दा धेरै भएको जनाएको छ।
मङ्गलबारको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त भएका छन्। शुक्रबार दिउँसो प्रकोप क्षेत्रको भ्रमणमा गएका ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले घटनाको दृष्य युद्ध स्थल जस्तो देखिएको भन्दै मन्त्रीहरूलाई उद्धारका रचनात्मक उपाय अवलम्बन गर्न निर्देशन दिएका छन्।
अग्निनियन्त्रकहरूले विपद्को चार दिन पछि पनि मानिसहरूलाई जीवितै उद्धार गर्न सम्भव भएको बताएका छन्। यद्यपि प्रतिकूल मौसमका कारण भग्नावशेष सार्न भारी मेसिनरी प्रयोग गर्न गाह्रो भएकाले उद्धार प्रयासहरू सुस्त छ। ब्राजिल सरकारले प्रभावित क्षेत्रका लागि आपतकालीन राहतका लागि करिब ५० करोड रियास ९लगभग ९५ मिलियन अमेरिकी डलर० घोषणा गर्ने अपेक्षा गरिएको छ।
