कैलाली–कञ्चनपुरका किसानलाई धान भित्र्याउने चटारो भइरहेका बेला गरिमा जातको धानमा बाला नदेखिएपछि किसान चिन्तित बनेका छन्। राम्रो उत्पादन हुने आशामा गरिमा धान लगाएका कञ्चनपुरको शुक्लाफाँटा–३का पुरन चौधरीले गरिमा धान नफलेको बताए।
‘गरिमा धान भन्दा अगाडी लगाएको धान भित्र्याइसक्यौं तर यो धान अहिल सम्म पसाएको छैन’, उनले भने,‘यो धान लगाएर धेरै घाटामा छौं धान समयमा नफल्दा आलु खेतीगर्न पनि ढिला भयो।’
सवर्षको लगानी र मेहनत खेर गएको चौधरीले बताए। नेपाल सरकारले सूचीकृत गरेकको गरिमा धानबाट बढी उत्पादन हुने आशामा खेती गरेका कञ्चनपुरका अधिकांश किसानहरु धन भित्र्याउने बेला सम्म बाला नलाग्दा निरास छन्।
कञ्चनपुरको बेलौरी, शुक्लाफाँटा, कृष्णपुर र भिमदत्त नगरपालीकाका कैलालीको गौरीगंगा, घोडाघोडी, टिकापुर, धनगढि उप–महानगरपालीका लगायतका क्षेत्रमा गरिमा जातको धान खेति गरिएका कृषि ज्ञान केन्द्र महेन्द्रनगरले जनाएको छ।
कञ्चनपुर र कैलाली गरी ९ सय ६८ किसानहरुले २ सय ७२ हेक्टर क्षेत्रफलमा गरिमा जातको धानखेती गरेको भएपनि सबै ठाँउको एउटै समस्या देखिएको कृषि ज्ञान केन्द्र महेन्द्रनगरका निमित्त प्रमुख रामचन्द्र भट्टले बताए।
‘अन्य जिल्लामा ढिलो गरी बाला आएको भन्ने जानकारीमा आएको छ’, भट्टले भने,‘किसानहरुले केही धैर्य गरे बाला आउन सक्छ।’ अधिकांश किसानले लगाएको धान नफल्दा र समयमा पानी नपरेकाले रोपाइँ गर्न ढिला भएका कारण यस वर्ष कैलाली–कञ्चनपुरमा धानको उत्पादन घट्न सक्ने कृर्षि ज्ञान केन्द्र कञ्चनपुरले आँकलन गरिएको छ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गतवर्षको तुलनामा कञ्चनपुरमा यस वर्ष २५ प्रतिशत धानको उत्पादन घट्ने सक्ने अनुमान गरिएको छ। गत वर्ष कञ्चनपुरमा १ लाख ५० हजार २८ टन र कैलालीमा ३ लाख ५९ हजार ८ सय टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त प्रमुख रामचन्द्र भट्टले बताए। यस वर्ष कञ्चनपुरमा ४८ हजार ८ सय ९६ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ।
साभार ः अन्नपुर्ण पोष्टबाट