काठमाडौं ६ फागुन/ अमेरिकी सहयोग परियोजना ९एमसीसी० बारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष सकिएकाले पुनः छलफल गर्न शुक्रबार बिहान १० बजे बस्न लागेको हो। आजको बैठकमा एमसीसी संसदमा प्रस्तुत गर्ने या नगर्ने, एमसीसीबारे पक्षर विपक्ष वा साझा धारणा र गठबन्धनको भविष्य के हुने भन्ने विषयमा केन्द्रीत रहेर ‘निर्णायक’छलफल हुँदैछ।
पछिल्लो समय देशमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को विषयमा सत्ता गठबन्धनभित्र ठूलो विवाद चर्किएको छ। गठबन्धनमा रहेका दलहरुबीच एमसीसी टेबल गर्ने विषयमा सहमति जुट्न सकस भएको छ। एमसीसी संसद्मा टेबल गरी अनुमोदन गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासमा सत्ता गठबन्धनकै दलले अवरोध गरिरहेका छन्। बिहीबार पनि त्यही क्रम चल्यो। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका शीर्ष नेतृत्व र अन्य नेता राखेर दुईपटक छलफल चलाए। तर, सत्ता सहयात्री दलले अडान छाडेनन्।
बिहीबारको बैठकको सुरुमै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमसीसी टेबल गर्ने सरकारको तयारी रहेको बताएका थिए। जवाफमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जबर्जस्ती टेबल गरे आफ्नो पार्टीले विपक्षमा मतदान गर्ने, सरकारबाट पनि अलग हुने अडान सुनाएका थिए। एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल भने एमसीसीलाई संसदीय प्रक्रियामा लैजाने सवालमा ‘लचिलो’देखिएका थिए। एमसीसी बुधबारै अघि बढाउने ‘माहोल’ बनाउन लागेका थिए देउवा। तर, गठबन्धन दल माओवादी केन्द्रले एमसीसी जबर्जस्ती पेश गरे विपक्षमा मतदान गर्ने निर्णय गर्यो। एमसीसीको विरुद्धमा गठबन्धन भित्रकै दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनमोर्चाका नेतारकार्यकर्ता सडक प्रदर्शनमा उत्रेका छन्।
प्रधानमन्त्री देउवाले सहमति नजुटे पनि शुक्रबारै एमसीसी अघि बढाउने सुनाएका छन्। यसलाई संसद्को प्रक्रियामा लैजान ढिलाइ गर्ने पक्षमा सरकार नरहेको उनको भनाइ थियो। देउवा, दाहाल र नेपालबीच यसअघि एमसीसी संसद्मा टेबल गर्ने, मतदानमा अनुपस्थित भएर अनुमोदन गर्न सहयोग पुर्याउने र प्रधानन्यायायधीशविरुद्ध महाभियोग दर्ता गर्ने समझदारी बनेको थियो। तर, उक्त सहमतिको गठबन्धनका दलले उल्लंघन गरेको भन्दै देउवाले ओलीसँग निकटता बढाएको कांग्रेसकै नेताहरू बताउँछन्।
गठबन्धनको बैठकमा सहमति नभएपछि प्रधानमन्त्री देउवा बिहीबार साँझ विपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे। त्यहाँ सत्तासमीकरण परिवर्तन, स्थानीय चुनाव, एमसीसी अनुमोदन गर्नेलगायत विषयमा गम्भीर कुराकानी भएको स्रोतले बताएको छ। सत्ता गठबन्धन कायम रहेसम्म सदनमा अवरोध जारी राख्ने एमालेको अडान छ। गठबन्धन परिवर्तन र सभामुख ‘एउटा पार्टीको जस्तो भएकामा सोच्नुपर्ने’ओलीको प्रस्ताव छ।
प्रचण्ड र देउवाले एमसीसी बोर्डलाई एमसीसी पास गर्ने प्रतिबद्धतासहित गोप्य रुपमा पत्र पठाएपनि पत्र सार्वजनिक भएपछि प्रचण्डले विपक्षमा मतदान गर्ने निर्णय संसदीय बैठकबाट गराएका छन्। एमसीसी मुख्यालयले गोप्य पत्रमा सन् २०२२, फेब्रुअरी २८ भित्रमा एमसीसी मुख्यालयसँग प्रतिबद्धता गरेबमोजिम एमसीसी पारित गर्न देउवा र प्रचण्डलाई आग्रह गरेको उल्लेख छ। यसैगरी अमेरिकी विदेश सहायक मन्त्रीले समेत उनीहरुलाई टेलिफोन गरेर एमसीसीबारे जानकारी लिएका थिए।