मनै लोभ्याउने चुरेको हरियो वनपाखा । त्यसैको काखमा एउटा सुन्दर गाउँ, ओलानी । वातावरणीय हिसाबले यो गाउँ अत्यन्त शान्त र रमणीय छ । तर, स्वास्थ्यको दृष्टिकोणले यहाँको वास्तविकता भने बेग्लै । सुन्दरताले धपक्कै यो गाउँमा धेरै जसो मान्छे एउटै रोगको सिकार भएको भेटिन्छन् । त्यो, हो एचआइभी एड्स । एचआइभीले सुन्दर गाउँको कथा दुःखमय बनेको छ ।
कैलालीको गोदावरी नगरपालिकामा पर्ने यो गाउँ एचआइभीले थिलथिल बनेको छ । रोजगारीका लागि भारत गएका पुरुषहरु उतै रोग आर्जन गर्ने र यता आएर परिवारमासमेत सार्नेक्रम नरोकिएकाले गाउँ नै एचआइभी सङ्क्रमणको चपेटामा परेको हो । खतरनाक यो रोग असुरक्षित यौन सम्पर्क गरी आएका पुरुषमामात्रै सीमित छैन । उनीहरुको गलत कार्यको सिकार घरमा रहेका श्रीमती र जन्मिने बालबच्चा पनि भइरहेका छन् ।
गाउँमा कुनै त्यस्तो घर छैन, जुन घरको मान्छे काम गर्न भारत नगएको होस । गएकामध्ये अधिकाङ्श एचआइभी एड्स बोकेर फर्किने गरेका छन् । यो रोगले कतिपयको ज्यानसमेत लिइसकेको छ । ‘एचआइभी एड्सबाट श्रीमानको ज्यान गइसक्यो’, वडा नम्बर १२ की ४० वर्षीया ईश्वरी बिकले भनिन्–‘उनी त बितेर गए, रोगको सिकार हामी आमा छोरा पनि भएका छौं ।’ ईश्वरी र उनका १६ वर्षीय छोरा पनि एचआइभी सङक्रमित छन् ।
गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११, १२ मा एचआइभी भयावह छ । कामका लागि भारत गएकाहरुले पैसासंगै आर्जन गरेर ल्याएको रोगले कतिपयको परिवारनै तहस नहस भइसकेको छ भने, कतिपय, बेसहारा जीवन बाँच्न बाध्य छन् ।
श्रीमानले बोकेर ल्याएको रोगले परिवारकै जीवन बर्बाद भएको वडा नम्बर ११ की ३८ वर्षीया हिरादेवी नेपाली बताउँछिन् । ‘श्रीमानले परदेशमा जुन गल्ती गरे, त्यसको सजाय हामी आमा छोराले पनि भोगिरहेका छौं’, उनले भनिन्–‘घरमा तिनै जना एचआइभीबाट पीडित छौं ।’ सबैले औषधि खाइरहेको नेपालीले बताइन् ।
गोदावरी नगरपालिकामा एचआइभी सङ्क्रमितका लागि काम गर्दै आएको एक संस्था नवकिरण प्लसका अनुसार तीन वटै वडामा गरेर ३१९ जना एचआइभी सङ्क्रमित छन् । पछिल्लो सयम स्थानीय सरकार गठन भएपनि स्थानीय सरकारले भने सङ्क्रमितको तथ्याङ्क लिएको छैन ।
सहयोगी संस्थाको तथ्याङ्कककै आधारमा पौष्टिक आहार वितरण गर्दै आएको वडा नम्बर ११ का वडा अध्यक्ष शिवबहादुर बिकले बताए । ‘हाम्रो वडामामात्रै ५९ जना सङ्क्रमित छन्’, उनले भने–‘हाल एचआइभी एड्स सङ्क्रमणको दर घटेको छ, तर, समाजमा लुकेर बसेका सङ्क्रमित खुल्नेक्रम भने बढेको छ ।’
जिल्लामै सबैभन्दा बढी एचआइभी सङ्क्रमित भएको यो गाउँका मान्छेहरु भारत जानेक्रम भने रोकिएको छैन । उनीहरु जसरी पहिला जाने गरेका थिए, अहिले पनि जानेक्रम त्यस्तै छ, अध्यक्ष बिकले भने । सङ्क्रमितहरुले कडा खालको औषधि खानु परेकाले पौष्टिक आहारको जरुरी रहेको भन्दै स्थानीय सरकारले लेयर्स जातका कुखुरा र सङ्क्रमित एकल महिलालाई एक÷एक वटा बाख्रा उपलब्ध गराएको छ । यसैगरी, सचेतनामूलक कार्यक्रम पनि गर्दै आएको अध्यक्ष बिक बताउँछन् ।
एकललाई समस्याको चाङ

४१ वर्षीया सीता बोगटीका श्रीमान पुरनको एचआइभी एड्सबाट ज्यान गएको नौ वर्ष भइसक्यो । भारतको सुरतमा काम गर्दा एचआइभी आर्जन गरेका उनले आफूलाई मात्रै त्यो रोग सीमित राखेनन् । श्रीमतीलाई पनि सारे । उनीहरुबाट जन्मेका १६ वर्षीया एक छोरी र १३ वर्षीय छोरा पनि सङ्क्रमित छन् ।
एकै घरमा तीन÷तीन जना सङ्क्रमित भएपछि समस्याको चाङ लागेको सीताले बताइन् । ‘घरको आर्थिक अवस्था निकै नाजुक छ, लालाबाला कसरी हुर्काउने ?’, आँशु झार्दै उनले भनिन्–‘आफ्नो त मति नै यस्तै भयो ।’
सीताको श्रीमानले नौ वर्ष अगाडि घरको जग हालेका थिए । श्रीमानको मृत्यु भएपछि घरको जग उठेको छैन । भएको सानो झुपडी जीर्ण बन्दैछ । पानी पर्दा घर चुहिने गरेको सुनाउँदै उनले सुनाइन्–‘खान लाउन नै समस्या छ, बुढाले जग हालेर गएको घर कसरी उठाउने ?’
घरमा रहेका तिनै जना सङ्क्रमित नियमित औषधि खाइरहेका छन् । तर, एचआइभी लागेको थाहा हुँदा पनि पुरनले भने नियमित औषधि खाएनन् । रोगी भएर पनि काम गर्न गएको बेला उनको सुरतमै ज्यान गएको थियो ।
‘उनी आफ्नै लापरवाहीले गएका हुन’, सीता भन्छिन्–‘टीबी, पेलिया बस्या अनि उनको प्राणी टुटी गयो ।’ एचआइभी सङ्क्रमित भएको थाहा पाउदा सुरुमा गाउँका मान्छेले निकै हेपेको सीताको भनाइ छ । ‘अब गाउँलेहरुले बुझ्दै गएपछि सहज भएको छ’, उनले भनिन् । सहयोगी संघ संस्थाले खाद्यान्न सहयोग गरेपछि एकल जीवनमा दुई छाक टार्न केही सहज भएको सीताले बताइन् ।