काठमाडौँ, २६ माघ । केही दिनयता रोकिएका वर्षा र हिमपात फेरि सुरु हुने भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि कम्तीमा शुक्रबारसम्म देशका धेरैजसो स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना देखिएको हो।
महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ , देशभर मौसम बदली भई सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बागमती तथा प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।
मौसमविद् मञ्जु बासीका अनुसार पुनः पश्चिमी न्यून चापीय प्रणाली विकास भएकाले विशेषगरी दुई दिन अर्थात् बुधबार र बिहीबार मौसम बदली, वर्षा र हिमपात हुने सम्भावना देखिएको हो।
काठमाडौं उपत्यकामा भने आज यसको खासै असर नदेखिने उनको अनुमान छ।‘मौसम बदली हुन सक्छ, तर वर्षाको सम्भावना एकदमै न्यून छ’, मौसमविद् बासीले बुधबार बिहान भनिन्, ‘वर्षा भइहाले पनि फाटफुट होला।’