बैतडी, २० माघ । बैतडीको हवाई सेवा एक महिनादेखि बन्द छ। गत पुस १६ गतेदेखि बैतडी–धनगढी उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय बैतडीले जनाएको छ। साताको एक दिन शुक्रबार बैतडीबाट धनगढीसम्म समिट एयरले उडान भर्दै आएको थियो।
हाल यात्रु नपाउँदा नियमित उडान हुन नसकेका नागरिक उड्डयन कार्यालय पाटनका वरिष्ठ अधिकृत दीपक भट्टले जानकारी दिए। ‘यात्रु नहुँदा नियमित उडान गर्न सकिएको छैन्, मौसम खराबीका कारण यात्रुले हवाई यात्रा नगरेको देखिन्छ,’ उनले भने। मौसम सफा हुँदै गएकाले अब केही दिनपछि नियमित उडानको तयारी भएको कार्यालयले जनाएको छ।
अठार यात्रु क्षमताको समिट एयरको जहाजका लागिसमेत यात्रु नहुँदा समस्या भएको हो। ‘दैनिक ५र७ जनाले मात्र हवाई यात्रा खोज्ने गरेका छन्, १४/१५ जनासम्म पुगेपछि उडान गर्न सकिन्छ,’ उनले भने।
विस २०३२ सालमा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो।त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो। रासस
