धनगढी १९ माघ/कैलाली कञ्चनपुरका ६ जना अनाथ असहाय तथा विपन्न बालबालिकालाई स्कुल पोसाक, शैक्षीक सामाग्री तथा नगद सहयोग हस्तान्तरण गरिएको छ । पारिवारीक आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनमा समस्यामा रहेका बालबालिकालाई युनिसेफ नेपालको सहकार्यमा बागेश्वरी असल शासन क्लब ९बास०ले उक्त सहयोग हस्तान्तरण गरेको छ ।
सहयोग अन्तरगत आर्थिक अवस्था निकै कमजोर रहेका कैलालीको धनगढी उपमहानगरपालिका –४ खानेपानि टोलका जनजागृती आधारभुत विद्यालयमा अध्ययनरत सन्ध्या कुमारी सोप, स्वतिका सोप, सम्झना र समिर सोपलाई विद्यालय पोसाक, शैक्षीक सामाग्री तथा खाद्यन्नको लागि नगद १० हजार सहयोग गरिएको छ ।
परिवारमा बुबा सुगरको बिरामी भएर लामो समयदेखी सेती प्रादेशीक अस्पतालमा उपचारारत रहेको र परिवारीक आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जानै समस्या तथा घरमा खाद्यन्नको अभाव रहेको जानकारी भएपछि उनीहरूलाई न्यानो लुगा, जुत्ता, स्कुल पोसाक, शैक्षीक सामाग्री, खाद्यन्न लगाएतका सामाग्रीको जोहो गर्न नगद सहयोग उपलब्ध गराएको हो ।
समस्यामा रहेका उनिहरुलाई धनगढी उपमहानगरपालिका –४ का वडाध्यक्ष दिपकप्रसाद थापा क्षेत्री र बासका सुदूरपश्चिम संयोजक लक्ष्मी प्रसाद जैशीले घरमै भेटेरे सहयोग हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरण पश्चात् बोल्दै वडाध्यक्ष थापाले बासले सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरिरहेको बताए । उनले समस्यामा रहेका विपन्न बालबालिकालाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै आगामि दिनमा पनि आफ्नो वडामा सहयोगको अपेक्षा गरे । यस्तै सहयोग हस्तान्तरणमै बालबालिकाहरुको दैनिय अवस्था देखेर वडाध्यक्ष थापाले उनिहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट नदग ३ हजार सहयोग गरेका थिए ।
बालबालिकाहरुलाई सहयोग हस्तान्तरण गर्दै बासका सुदूरपश्चिम संयोजक जैशीले सुशासनका क्षेत्रमा अभियान चलाउदै आएको बासले अहिले प्रदेशका ८८ वटै पालिकामा बाल संरक्षण अन्र्तगत काम गरिरहेको बताए । उनले समस्यामा रहेका बालबालिकाहरुलाई बासले विभिन्न किसिमका सहयोग गर्दै आएको बताए ।
यसै गरी कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाङाजाइका असहाय दुई बालबालिका राम मिलन राना र अमृता रानालाई पनि उनिहरु अध्ययनरत विद्यालयमै पुगेर आर्थिक सहयोग गरिएको छ । गाउँकै बैजनाथ बहुभाषिक आधारभुत विद्यालयको कक्षा ८ मा अध्ययनरत राम मिलन राना आर्थिक अवस्था कमजोर भएकै कारण होटलमा काम गरेर दैनिक विद्यालय आउने गर्छन् ।
यस्तै कक्षा ४ मा अध्ययनरत अमृता राना परिवारमा कोही नभएपनि फुपुको घरमा बसेर अध्ययन गरिरहेकी छन् । उनिहरुलाई विद्यालय पोसाक, शैक्षीक सामाग्रीको अभावले विद्यालय छोड्ने अवस्था सिर्जना भएको जानकारी भएपछि बासले बाल संरक्षण कार्यक्रम अन्तरगत बालबालिकाका लागि विद्यालय पोसाक, कापि, कलम, झोला, लगायत शैक्षीक सामाग्री सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण लालझाडी गाउँपालिका–४ का वडा सदस्य गर्भु राना र विद्यालयका सहायक प्रध्यानध्यापक दिपेद्र रानाले बालककी आमा रामजानकी रानालाई हस्तान्तरण गरेका थिए । बासले युनिसेफ नेपालको सहयोगमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा बाल संरक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अन्तरगत बालबालिका सहयोग कार्यक्रमबाट उक्त सहयोग हस्तान्तरण गरिएको जनाएको छ ।