बझाङ, ६ माघ । बझाङका विद्यालयहरुमा किशोर किशोरीमैत्री सूचना केन्द्र स्थापना भएपछि छात्र छात्राहरुलाई यौन शिक्षा बुझ्न सहज भएको छ ।
शिक्षकहरु समेत विद्यार्थीहरुलाई खुलेर यौन शिक्षा अध्यापन गराउन सक्ने भएका छन् । यो भन्दा अगाडी न शिक्षक, न विद्यार्थी यौनका विषयमा खुलेर बोल्न असहज मान्दथे ।
अहिले बझाङका गाउँगाउँका विद्यालयमा किशोर किशोरीमैत्री सूचना केन्द्र स्थापना भएका छन् । यसको सहज पहुँचले खुलेर पढ्न र अध्यापन गर्न सजिलो भएको छ ।
सूचना केन्द्र स्थापना हुनु भन्दा पूर्व यस्तो खुलस्त हैन यौनको कुरा आउँदा लजाउने अवस्था थियो । जब विद्यालय हातामै सूचना केन्द्र स्थापना भयो, त्यसपछि भने किशोर किशोरी सँगै शिक्षक, शिक्षिकामा समेत परिवर्तन आएको छ ।
त्यति मात्र हैन, सूचनामैत्री केन्द्रमा स–सना बालबालिकाबीच हुने झगडा पनि सूचना केन्द्रमा बसेर बालबालिकाहरु आफैंले मिलापत्र गर्ने गरेका छन् ।
अहिले केन्द्रमा सेनेटरी प्याड समेत उपलब्ध हुने भएका कारण किशोरीहरुलाई थप सहज भएको भैरव माध्यमिक विद्यालय झोताकी छात्रा रबिना धामीको अनुभव छ ।
समाजमा हुने गरेका, विसंगतीसँग लड्न थप उत्प्रेरणा मिल्नुका साथै यौन हिंसाका बारेमा पनि ज्ञान आर्जन गर्न सजिलो भएको कक्षा १० मा अध्ययनरत सञ्जय ओलीको भनाई छ ।
अहिले विद्यालयमा अध्ययनरत मात्र हैन, आसपासका महिलाहरु समेत सूचना केन्द्रमा पुगेर शिक्षा आर्जन गर्न थालेका छन् ।सबै किशोर किशोरीहरु यहाँ आउन नमान्ने तर अहिले खुलेर त्यहाँ पुग्नुका साथै यसबाट फाईदा समेत लिई रहेका छन् ।
केन्द्रमा पुगेर विद्यार्थीहरुले आफ्नो उचाई, तौल र अन्य स्वास्थ्य अवस्थासमेत बुझ्ने गरेका छन् । तनाव ब्यवस्थापन गर्ने र यसैबाट विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको फोकल शिक्षक खगेन्द्रनाथ वियोगीको भनाई छ ।
युएनएपिएको आर्थिक सहयोगमा फाया नेपाल कैलालीको समन्वयमा बझाङका २६ वटा विद्यालयमा किशोर किशोरी मैत्री सुचना केन्द्र स्थापना भएका छन् ।
किशोर किशोरी मैत्री सुचना केन्द्र मावि तहका सबै विद्यालयहरुमा संचालन गर्न जरुरी छ । जसका कारणले किशोर किशोरीहरुलाई यौन शिक्षाका बारेमा ज्ञान लिन सहज हुने देखिन्छ । यसका लागि स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यान जान जरुरी छ ।