धनगढी, १ माघ । आज माघ १ गते, चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर माघे संक्रान्ति पर्व मनाइँदैछ। हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ।
विभिन्न समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउँछन्। माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिन्छ। आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ।
माघे संक्रान्तिको अवसर पारेर कैलालीको गोदावरी धाममा यसवर्ष अर्धकुम्भ मेलाको योग परे पनि कोरोनाका कारण प्रभावित भएको छ। मेला प्रभावित भए पनि स्नान तथा पूजापाठ गर्न खुल्ला गरिएपछि गोदावरी धाममा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ।