धनगढी, २६ पुस । कैलालीको गोदावरी धाममा अर्धकुम्भ मेलाको योग परेकोमा यसवर्ष नहुने भएको छ। कोरोना भाइरसको संक्रमण बढेपछि आयोजक धाम विकास समितिले यसवर्ष अर्धकुम्भ मेला नलगाउने निर्णय गरेको हो।
समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अर्धकुम्भ मेलाका सम्पूर्ण औपचारिक कार्यक्रम नहुने जानकारी दिएको हो। तर कुम्भ मेलाको परम्परालाई निरन्तरता दिन गंगा पूजन,कलश पूजन, पंचाङ पुराण परायण ,लक्ष्य हवन लगायतका धार्मिक कार्यहरु भने सरकारले तोकेको मापदण्ड अनुसार नै गरिने धामका अध्यक्ष पदमराज जोशीले जानकारी दिए।
१२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ र प्रत्येक वर्ष मकर मेलाको आयोजना हुने योगअनुसार यसवर्ष अर्धकुम्भ मेला लगाउन छलफल थालिएको थियो। ०७२ सालमा गोदावरीमा माघीको दिनदेखि एक महिने ‘अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला’ लागेको थियो। मेलाको औपचारिक उद्धघाटन महास्नानको पूर्वसन्ध्या पुस ३० गते बिहीबार राष्ट्रिपति विद्यादेवी भण्डारीले गरेकी थिइन्।