धनगढी, १५ पुस । कैलालीको धनगढीमा निर्वाचन अधिकृतको कार्यालय बिहिबार उद्घाटन गरिएको छ । यहि माघ १२ गतेदेखि हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनलाई सफल पार्न कार्यालयको समुदघाटन गरिएको हो । २०७४ सालमा सो निर्वाचन प्रदेशको डोटी जिल्लामा गरिएको थियो । यस वर्ष निर्वाचन आयोगले सो निर्वाचन धनगढीमा गर्ने निर्णय गरेको थियो ।
एक समारोहकाबिच जिल्ला न्यायधिकश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले डोरी तानेर ब्यानर उद्घाटन गरेका थिए ।सो अवसरमा बोल्दै अधिकृत पनेरुले मतदाता नामावली प्रकाशन भइसकेपछि निर्वाचन प्रक्रिया अघि बढ्ने बताए । उनका अनुसार यहि १७ गते मतदाता नामावली प्रकाशन गर्ने र उम्मेदवारी दर्ता प्रक्रिया अघि बढाइने छ ।
सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुने छ । प्रदेशमा एक महिला, दलित र अन्य पदका लागि निर्वाचन हुने छ । निर्वाचन अधिकृत पनेरुले धनगढीस्थित प्रदेश सभा सचिवालयमा दुईवटा मतदान केन्द्र स्थापना गरि मतदान गराइने बताए । सोका लागि एक मतदान केन्द्रमा तीन वटा मतपेटिका राखिने छ ।
तीन पदका लागि प्रदेश सभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरि दुई सय २७ जना मतदाता रहेका छन । प्रदेशमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवाद, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट विजयी जनप्रतिनिधी रहेका छन ।