२६ कर्मचारीबाट ३० लाख ८५ हजार ५५० घुस बरामद
कञ्चनपुर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात बर्षको अवधिमा १५ स्टेरिङ्ग अप्रेसन गरेको छ । आर्थिक बर्ष २०७०÷०७१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा स्थापना भएको थियो ।
अख्तियारले दुई बर्षपछि आर्थिक बर्ष २०७२÷०७३ देखि चालु आर्थिक बर्ष ०७६÷०७७ साउन मसान्त सम्ममा १५ स्टेरिङ्ग अप्रेसन मार्फत २६ कर्मचारीलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३० लाख, ८५ हजार, ५५० रुपैया बरामद गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७२÷०७३ मा तीन स्टेरिङ्ग अप्रेसन मार्फत ४ कर्मचारीलाई पक्राउ गरि उनीहरुको साथबाट एक लाख, १५ हजार, ५५० रुपैया बरामद गरिएको थियो ।
आर्थिक बर्ष ०७४÷०७५ मा तीन स्टेरिङ्ग अफ्रेसन मार्फत ८ कर्मचारीबाट २१ लाख, २० हजार बरामद गरियो, आर्थिक बर्ष ०७५÷०७६मा ७ स्टेरिङ्ग अप्रेसन मार्फत १० जना कर्मचारीबाट ३ लाख, ५० हजार र चालु आर्थिक बर्षको साउन मसान्त सम्ममा दुई स्टेरिङ्ग अप्रेसन मार्फत ३ लाख ३४ हजार बरामद गरिएको हो ।
घुस सहित कार्यालय सहयोगीदेखि उप–सचिवसम्मका कर्मचारी परेका छन् । दुई उप सचिव, २ डिभिजन ईन्जिनियर, २ ईन्जिनियर, २ सहायक वन अधिकृत, ४ नायब सुब्बा, १ लेखापाल, ४ सव ईन्जिनियर, १ रेन्जर, १ फरेष्टर, २ कार्यालय सहयोगी र २ बिचौलियालाई पक्राउ गरेको थियो । अख्तियारले कैलाली र कञ्चनपुरमा बढि स्टेरिङ्ग अप्रेसन गरिएको छ । चालु आर्थिक बर्षमा एक स्टेरिङ्ग अप्रेसन गरिएको हो ।
अख्तियारको तथ्याङ्क अनुसार आर्थिक बर्ष ०७२÷०७३ मा महाकाली अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगर कञ्चनपुरका कार्यालय सहयोगी भीमराज भट्टको साथबाट ३८ हजार, छोटी भन्सार कार्यालय खग्रौलाका नायब सुब्बा यादव कुमार श्रेष्ठको साथबाट २४ हजार र सेक्टर वन कार्यालय कैलालीका सहायक वन अधिकृत राज कुमार मल्लबाट दुई हजार ५५० र रेन्जर बाबुराम बिजारमाट ५१ हजार रुपैया बरामद गरेको थियो ।
आर्थिक बर्ष ०७४÷०७५ मा राजस्व अनुसन्धान कार्यालय चेकपोष्ट अत्तरियाका नायब सुब्बा नरेन्द्र कुमार साउद र कार्यालय सहयोगी टिकाराम जोशीबाट ४५हजार, जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख, केदार शर्मा, सव ईन्जिनियरत्रय डण्डिराज पाण्डे, बिरेन्द्र सिह बडाल, नबीन कुमार दुवे र लेखापाल केशव राज जोशीबाट २० लाख ७० हजार, विद्युत फ्युज सेवा गड्डाचौकीका चौकिदार हर्क बहादुर चन्दको साथबाट ५हजार बरामद गरेको छ ।
अख्तियारले सबैभन्दा बढि आर्थिक बर्ष ०७५÷०७६ मा सबैभन्दा बढि स्टेरिङ्ग अप्रेसन गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण गहु सुपरजोन परियोजनाका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत रामनन्दन यादवबाट २५ हजार, सव डिभिजन वन कार्यालय भजनीका फरेष्टर हरिशचन्द्र कुमारबाट १० हजार, सव डिभिजन वन कार्यालय तारानगर कैलालीका सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्पराज जोशीबात ३० हजार, टीकापुर भन्सार कार्यालयका एजेण्ट सहयोगी राम बहादुर साउदबाट १५ हजार, कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका नायब सुब्बा राम प्रशाद भट्टराईबाट १० हजार, बेलौरीनगरपालिका कार्यालयका सव ईन्जिनियर ह्दयराज बजगाईबाट ६० हजार र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अजित कुमार श्रीवास्तव , ईन्जिनियर ग्रीस्मा ठगुन्नाबाट दुई लाख नगद बरामद गरिएको थियो ।
यस्तै अख्तियारले चालु आर्थिक बर्ष २०७६÷०७७ को भदौँ मसान्त सम्ममा मालपोत कार्यालय टीकापुरका नायब सुब्बा सिह बहादुर सिह र खरिदार नर राज पाण्डेकोसाथबाट ८ हजार, सव डिभिजन कार्यालय विपि नगर डोटीका वन अधिकृत सुरेश चन्द्र डिसीबाट तीन लाख २६ हजार र यातायात व्यवस्था कार्यालय सेती कैलालीका प्रमुख गम्भिर सिह विष्ट, अधिकृतद्वय भुवन जोशी, जयराज कारिगरको साथबाट एक लाख ६६ हजार रुपैया बरामद गरिएको छ ।
घुसलिने बढि प्राविधिक कर्मचारी
पक्राउ परेका कर्मचारी मध्ये सबैभन्दा बढि प्राविधिक तर्फका रहेका छन् । एक बरिष्ठ कृषि विकास अधिकृत, प्रमुख ईन्जिनियर सहित ६ जना , वन तर्फका ५ जना गरि १२ जना प्राविधिक धारका कर्मचारी रहेका छन् । भने बाँकी एक लेखापाल, कार्यालय सहयोग दुई र एक एजेन्ट गरि तीन जना निम्नस्तरका परेका छन् । एक खरिदार, चार नासु र तीन जना अधिकृत परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार घुस लिनेमा प्राविधिक तर्फका कर्मचारी घुस्याहा भएको पुष्टी गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका कार्यालय प्रमुख ज्ञानेन्द्र कार्कीले रंगेहात सहित पक्राउ परेका कर्मचारी एव विचौलियालाई कार्बाहीका लागि आयोगको केन्द्रीय कार्यालयमा पठाएको बताए । उनका अनुसार कर्मचारीमाथी कार्बाहीका लागि विषेश आदालतमा मुद्दा दायर गरिएको छ । सुदूरपश्चिममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय स्थापना भएसंगै भ्रष्टाचार न्यूनिकरण भईरहेको दावि गरिएको छ । स्थानीयले भ्रष्टाचार निर्मलका लागि अख्तियारको महत्वपूर्ण भूमिका हुने भएकाले अख्तियार सकृय र स्वय अख्तियारकै कर्मचारी इमान्दारिता हुनुपर्नेमा जोडदिएका छन् ।