काठमाडौँ १३ मंसिर/ कांग्रेस डडेलधुरा अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले सदर गरिदिएको छ । यसअघिका जिल्ला सभापति कर्णबहादुर मल्ललगायतले वडादेखि जिल्ला अधिवेशनमा एकलौटी भएको भन्दै खारेज गरी फेरि अधिवेशन गर्न माग गर्दै निवेदन दिएका थिए ।
डडेलधुरामा मल्लको सहभागिताको बिनै जिल्ला अधिवेशन भइसकेको छ । ती निवेदनमाथि सुनुवाइ गर्दै निर्वाचन समितिले सोमबार बहुमतले डडेलधुरा अधिवेशनलाई सदर गर्ने निर्णय गरेको हो । समितिका ४ सदस्यमध्ये सीताराम केसीले भने विधानविपरीत हुने भन्दै फरक मत राखेका छन् ।
डडेलधुरामा सभापति शेरबहादुर देउवा पक्षले एकलौटी ढंगले अधिवेशन गरेको आरोप थियो । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले अधिवेशनलाई मान्यता नदिन आग्रह गर्दै आएका थिए । पुनः अधिवेशन गर्न माग गर्दै मल्ललगायत नेता सानेपामा रिले अनशन पनि बसेका थिए ।सानेपामा रिले अनशन गरिरहेका मल्लसहित नेता कार्यकर्ताले भने समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै छलफल गरेर अन्य संघर्षका कार्यक्रमहरु ल्याउने बताएका छन् ।