डडेल्धुरामा स्क्रबटाइफसको महामारी फैलिन थालेको छ। पछिललो दुई हप्ताको समयमा मात्रै डडेल्धुरामा २७ जना स्क्रबटाइफसका विरामी देखा परेका डडेल्धुरामा अस्पतालले जनाएको छ।
डडेल्धुरा अस्पतालमा भदौ महिनाको हालसम्म मात्रै १ सय २८ शंकास्पद बिरामीलाई चेकजाँच गर्दा २७ जनामा स्क्रबटाइफसका पोजेटिभ बिरामी फेला परेको अस्पताल प्रशासनले जनाएको छ। डडेल्धुरा अस्पतालका प्रयोगशाला प्रमुख इश्वरीप्रसाद भुषालका अनुसार १ सय २८ जना बिरामीको रगत परिक्षण गरिएकोमा २७ जनामा स्क्रबटाइफस देखा परेको हो। अस्पतालले भदौ ५ गतेबाट १५ गतेसम्म उपचारका लागि आएका १ सय २८ जना बिरामीको रगत परिक्षण गरेको उनले बताए।
डडेल्धुरा अस्पताल डडेल्धुरामा बझाङ, बैतडी, डोटी, दार्चुलाका बिरामी आउने गरेकाले संक्रमित २७ डडेल्धुराका मात्रै नभएर अन्य जिल्लाका पनि रहेका प्रयोगशाला प्रमुख भुषालले बताए। गत वर्ष डडेल्धुराको अजयमेरुमा पहिलो पटक देखा परेको स्क्रबटाइफस वर्षातको समयमा अन्य पहाडि जिल्लामा पनि देखा पर्न थालेको छ।
गत साल सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा ४१ दिनको अवधिमा १ सय ३० जनाको स्वास्थ्य चेकजाँच गर्दा ५० जनामा स्क्रबटाइफसको संक्रमण देखा परेको डडेल्धुरा अस्पतालको तथ्यांकमा उल्लेख छ। जस मध्य दुई जनाको मृत्यु समेत भएको थियो। पछिल्लो समय किटजन्य रोगको महामारी पहाडि जिल्लामा फैलिन थालेको छ। गत साउनमै डडेल्धुरामा कालाजार रोगका बिरामी भेटिएका थिए।
जिल्लाको उत्तरपूर्वी क्षेत्रका अजयमेरु गाउँपालिका ६ का २१ वर्षीय विपि जोशीलाई कालाजारको संक्रमण देखापरेको थियो। कालाजार र स्क्रबटाइफस किटजन्य रोग भएको प्रयोगशाला प्रमुख भुषालले बताए। स्क्रबटाइफस रोग लागेमा ज्वरो आउने, मांशपेशी दुख्ने, अत्याधिक टाउको दुख्ने, खल्खल्ती पसिना आउने, खोकी लाग्ने जस्ता लक्षण देखापर्ने डडेल्धुरा अस्पतालका डाक्टर उत्तम भट्टले बताए। अस्पतालका मेडिकल सुपरिटेन्डन्ट जितेन्द्र कँडेल यसपटक किटजन्य रोगले सताएको भन्दै आम सर्वसाधारणलाई सचेत रहन सुझाव दिएका छन्।