जिल्ला खेलकुद विकास समिति कञ्चनपुरले कवर्डहल परिसरमा माछा पालनका लागि दिइएको खेलकुदको जग्गा खाली गराउन अग्रसरता लिएको छ ।
चार बर्षअघि खेलकुद विकास समितिले राष्ट्रिय खेलकुद परिषद्सित समन्वय नै नगरी कवर्डहल परिसरमा रहेको सात बिघा खाली जमिन माछा पोखरी बनाउन दिएपछि विवादमा आएको थियो ।

खेल मैदान र खेलाडी उत्पादनको थलोलाई मिच्दै माछापोखरी बनेयता खेलकुद विकास समितिले अपजस खेप्दै आएको थियो ।
“कृषि प्रयोजनका लागि दश बर्षको ठेक्का सम्झौता गरेर जमिन दिइएको थियो ।” जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले भन्नुभयो–“भाडामा लिनेले माछा पोखरी बनाएपछि धेरै तनाव झेल्नु प¥यो ।”
उहाँले उक्त जमिन खाली गराउन करिब तीन महिलाअघि नै भाडामा लिएको पक्षलाई जानकारी गराइसकेको बताउनुभयो । “सम्झौता अनुसार भाडामा लिनेले माछापोखरी पुरेर पुरानै अवस्थामा हस्तान्तरण गर्नुपर्छ ।” भट्टले भन्नुभयो–“माछापोखरी भएको ठाउँमा क्रिकेट मैदान बनाउन प्राविधीक टोलीले नापचाँज गरिसक्यो ।”

उक्त सात बिघा जग्गा समितिले बार्षिक रु १ लाख ७५ हजारमा भाडामा दिएको थियो ।
त्यसैगरी खेलकुद परिसरमै बनेको महाकाली यातायात व्यवस्था कार्यालयको ‘ट्रायल सेन्टर’ पनि खाली हुने खेलकुद विकास समितिले जनाएको छ । समितिले बार्षिक रु एक लाख भाडा पाउने गरी यातायात कार्यालयलाई एक बिघा जमिन दिएको थियो ।