अफगानिस्तानको राजधानी काबुलमा एक विवाह समारोहमा बम बिस्फोट भएको छ । अफगानिस्तानको गृह मन्त्रालयका अनुसार सो विस्फोटमा कैयौं मानिस मारिएका छन् । प्रत्यक्षदर्शीका अनुसार आत्मघाती आक्रमणकारीले मानिसहरु खचाखच भएको रिसेप्सनमा आफैंलाई बम विस्फोट गराएको थियो । सो विस्फोट स्थानीय समय अनुसार २२ः४० बजे भएको हो ।
यो आक्रमण शहरको शिया बहुल क्षेत्रमा भएको हो । प्रत्यक्षदर्शीले आफूहरुले त्यहाँ कैयौं शव देखेको जनाएका छन् ।सामाजिक सञ्जालमा सार्वजनिक गरिएका तस्बिरमा महिलाहरु घटनास्थल बाहिर विलाप गरिरहेको देखिएको बीबीसीले जनाएको छ । यो समाचार तयार पार्दासम्म कसैले पनि घटनाको जिम्मेवारी लिएको छैन । यही महिनामा काबुलको प्रहरी कार्यालय बाहिर भागमा आत्मघाती आक्रमण हुँदा १५० भन्दा बढी मानिस मारिएका थिए । (बीबीसी)