सुर्खेतबाट सरकारी गाडी र कालिकोटको जितेबजारदेखि निजी जीप चढरे उनी विभिन्न कार्यक्रममा पुगे। पहिलो कार्यक्रम पचालझरना गाँउपालिकाको लाफागाड लघुजलविद्युत आयोजना उद्घाटन गरे। बुधबार पचालझरनाको फेदमा आयोजना गरिएको गाँउसभामा सहभागी भए।
बुधबार नै पचालझरना गाउँपालिका ८ मा रहेको आफ्नै घरमा बास बस्न पुगे। बिहीबार रास्कोट नगरपालिकामा विभिन्न कार्यक्रममा सहभागी भए । बास बस्न शान्नित्रिवेणी गाँउपालिका पुगे। शुक्रबार जिल्लाको शान्नित्रिवेणी गाउँपालिकाको कार्यक्रममा सहभागी भएर जिल्ला सदरमुकाम फर्किए।
मुख्यमन्त्री शाही जिल्ला फर्किदै गर्दा तीन ठाँउमा जीप हिलोमा फस्यो। मुख्यमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मी, नेकपाका पार्टीका नेता तथा कार्यकर्ता जीपलाई धकेल्न थाले। उनीहरुसँग मुख्यमन्त्री शाहीले पनि गाडी धकेल्न सहयोग गरे। स्थानीय नागरिक वरपरबाट निहालिरहेका थिए। मुख्यमन्त्री आफै गाडी धकेल्न कस्सीएपछि जनता मुस्कुराए।
जिल्लाका ग्रामीण सडक असार–साउनमा हिलाम्ये हुन्छन्। जिल्लाको मुख्य राजमार्ग कर्णाली राजमार्ग र कर्णाली करिडोरका साथै जिल्लामा विभिन्न स्थानीय तहमा खनिएका ग्रामीण सडकमा वर्षाको हिलोले सडकको स्वरुपले बिग्रिएको छ।
मुख्यमन्त्री शाहीले ठाउँठाउँका कार्यक्रमा स्थानीय तहले निर्माण गरेका ग्रामीण सडकको गुणस्तरमाथि प्रश्न उठाएका छन्। उनले गाडी नै नगुड्ने सडक निर्माण गरेर बजेट खर्च गरेको आरोप लगाए।
पचालझरना गाउँपालिकाको गाउँसभामा बोल्दै मुख्यमन्त्री शाहीले न्यूनतम सडकको मापदण्ड पूरा गरी सडक निर्माण गर्न गाँउपालिकाका जनप्रतिनिधिलाई निर्देशनसमेत दिए।
कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षमा कालिकोटका बिभिन्न सडकमा मात्र ५५ करोड भन्दा बढी बजेट विनियोजन भएको छ। जिल्लाका १४ महत्वपूर्ण सडकको निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो।