काठमाडौं : भारतीय क्रिकेट कप्तान विराट कोहली विभिन्न विषयलाई लिएर सामाजिक सञ्जालमा छाइरहने खेलाडीमध्ये एक हुन्। उनका फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक संसारमा प्रशस्त फलोवर छन्।
कोहलीका सबैतिरका फलोवर संख्या मिलाउँदा १० करोड हाराहारी पुग्छन्। यसरी हेर्दा उनी १० करोड फलोवर भएका विश्वकै पहिलो क्रिकेटर हुन्। उनको इन्स्टाग्राममा तीन करोड ३६ लाख, ट्विटरमा दुई करोड ९५ लाख र फेसबुकमा तीन करोड ७० लाख छन्।
भारतीय टिमबाट होस् वा रोयल च्यालेन्जर्स बेङ्लोरबाट। सामाजिक संजालमा उनका हार र जितका पोष्टहरु चर्चित बन्ने गरेका छन्। श्रीमती अनुश्का शर्मासँग बाहिर घुम्न निस्कँदाका तस्बिर साथै ब्राण्ड प्रोमोसनसमेत सामाजिक सञ्जालमा भाइरल बन्ने गर्छन्।
सन् २०१८ को कर्वा चौथमा अनुश्का शर्मासँग खिचिएको फोटो कोहलीले ट्विट गरेका थिए। जसलाई सामाजिक सञ्जालमा दुई लाख १५ हजार लाइक आएको छ। लाइक अझै बढ्दै छ। यो २०१८ कै सर्वाधिक लाइक गरिएको ट्विट बन्यो। यसलाई भारतमा ‘गोल्डेन ट्विट’ को नामले चिनिन्छ।
उनले इन्स्टाग्राममा ९३ र ट्विटरमा ५२ जानालाई मात्र फलो गरेका छन्। भारतीय कप्तान, इंल्याण्डमा हुले विश्वकप क्रिकेटमा राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै जाँदै छन्। जहाँ उनले नौ ठूला टोलीविरुद्ध खेल्नेछन्। त्यस्तै पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो इन्स्टाग्राममा सर्वाधिक फलो गरिएका व्यक्ति हुन्। उनको १६ करोड ७० लाख फलोवर छन्।
