काठमाडौं । अफगानिस्तानविरुद्धको पहिलो मैत्रीपूर्ण भलिबल खेलमा रोमाञ्चक जित निकालेको नेपाली भलिबल टोली दोस्रो खेलमा पनि रोमाञ्चक जित निकालेको छ ।
एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी गरिरहेको नेपाली टोली दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित निकालेको हो । बिहीबार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा नेपालले अफगानिस्तानविरुद्ध ३-२ सेटमा जित निकाल्न सफल भएको हो ।
पहिलो सेटमा २५-२२ ले पराजित भएको नेपाल दोस्रो सेटमा पनि २५-१५ ले पराजित भएको हो । निकै नै रोमाञ्चक खेलको तेस्रो सेटमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै २६-२४ को जित निकाल्न सफल भयो । निकै नै प्रतिस्पर्धात्मक खेलको चौथो सेटमा पनि नेपालले २६-२४ को जित निकाल्यो । निकैनै आक्रमक भएको नेपालले पाँचौ सेटमा पनि १५-१२ को जित निकाल्न सफल भयो ।
एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगिता भदौ २ गतेबाट सञ्चालन हुनेछ । प्रातियोगितामा घरेलु टोली नेपालसहित बंगलादेश, अफगानिस्तान, किर्गिस्तान, माल्दिभ्स, तुर्कि्मिनिस्तान र उज्वेकिस्तानसहित सात टोलीले प्रतिस्पर्धा गर्नेछन्