धनगढी, माघ २६/ नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले अब हरेक जिल्लाका अध्यक्षको नेतृत्वमा भएको निर्णयलाई मात्र मान्यता दिईने बताएका छन् । पत्रकार महासंघको आगामी अधिवेशनमा कसलाई अघि बढाउने भन्ने निर्णय जिल्लाको हकमा जिल्ला शाखाले नै गर्ने बताएका हुन् । सोमवार कैलालीको धनगढीमा नेपाल प्रेस युनियन कैलाली शाखाले आयोजना गरेको भेटघाट कार्यक्रमा वोल्दै अध्यक्ष सिग्देलले सो कुरा बताएका हुन् ।
जिल्लामा पत्रकार महासंघ भित्र आफ्नो नेतृत्व ल्याउन युनियनका शाखाहरु अन्य संगठनलाई मिलाएर लैजाने, नलैजाने वा एक्लै नेतृत्व गर्ने सम्पुर्ण अधिकार जिल्ला शाखालाई नै हुने बताए । ‘केन्द्रमा जस्तै प्रदेश र जिल्लामा युनियनका शाखाहरु सबै संगठनलाई समेटेर नेतृत्वदायी भुमिका खेल्नुपर्छ, तपाईहरु युनियनको जिल्लाको खम्बा हो, सोही प्रकारले नेतृत्वदायी भुमिका खेल्नुस्,’ उनले भने । कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देले केन्द्र र प्रदेशको हकमा कुन संगठनसंग मिल्ने निर्णय भने केन्द्रले नै गर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै अध्यक्ष सिग्देलले नेपाल पत्रकार महासंघलाई साझा चरित्रको संगठन बनाउन युनियनको नेतृत्वमा सबैलाई समेट्ने बताए । प्रेस युनियन लोकतन्त्रवादी पत्रकारको संगठन भएको स्मरण गराउँदै पछिल्लो मुलुकको राजनीतिक घटनाक्रमबाट लोकतन्त्र नै अप्ठ्यारो अवस्थामा परेको र पत्रकारिता क्षेत्र पनि अछुतो नरहेको बताए । कतिपय सञ्चार माध्यमले पत्रकारलाई न्युनतम पारिश्रमिक उपलब्ध गराउन नसकेको बताउँदै पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउन प्रेस युनियनले वकालत गर्दैै आएको स्मरण गराए। ‘प्रेस युनियन पत्रकारको पक्षमा सधैं दृढ रुपले प्रस्तुत हुन्छ,’ उनले भने । कोरोना भाईरसकोभिड–१९ महामारीको बहानामा केही सञ्चार माध्यमले पत्रकारलाई कामबाट निस्काशन गर्ने, बेतलबी विदामा बस्न लगाउने काम गरेको भन्दै युनियनले त्यसको कडा रुपमा प्रतिवाद गर्ने बताए । ‘विगतमा हामी पीडीत पत्रकारको पक्षमा बोल्दै आएका छौं, अझैपनि हामी प्रतिवाद गर्न तयार छौं,’ सिग्देलले भने ।
सो क्रममा बरिष्ट पत्रकार मनमोन स्वार , लागायत प्रेस युनियनका बिभिन्न वक्ताहरुले प्रेस युनियनले अब एकजुट भएर पत्रकार महासंघको नेतृत्वदायी भूमिका निर्वाह गर्दै जानु पर्नेमा जोड दिएका थिए । कार्यक्रम नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
