धनगढी, माघ २५/ सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले नेकपाको आन्तरिक रोइलोले मुलुक संकटमा परेको बताए ।उनले प्रधानमन्त्रीले प्रदेशको संरचना नै खारेज गर्न सक्ने आशंका व्यक्त गरेका छन ।
टीकापुर उद्योग वाणिज्य संघले आफ्नो २१ औं वार्षिक साधारण सभाका अवसरमा प्रस्तुत गरेका माग सम्बोधन गर्ने क्रममा उनले प्रदेशको संरचना रहे मात्रै माग सम्बोधन हुनसक्ने बताए ।
साधारण सभाका प्रमुख अतिथि समेत रहेका रावलले नेकपाको आन्तरिक रोइलोले मुलुकको अर्थ व्यवस्था संकटमा फसेको बताएका छन । उनले कोरोनाले थला परेको अर्थ व्यवस्थालाई राजनीतिक अस्थिरताले संकटमा धकेलेको बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रमले मुलुकको अर्थ व्यवस्था नराम्ररी प्रभावित हुनसक्ने अनुमान गर्न थालिएको बताए । ‘ब्यापार व्यवशाय कोरोनाले त्यसै थला परेको थियो त्यसमाथि राजनीतिक अस्थिरताले झन समस्या थप्यो’ उनले भने–‘अर्थ व्यवस्थालाई पुनः कालकोठरीमा पुर्याउने प्रयत्न भैरहेको छ ।’
यसै प्रदेशका साँसद समेत रहेका रावलले आफूले अघि सारेका धेरै योजनामा सत्तापक्षले बजेट कटौती गरेको आरोप लगाए । उनले सनकट्टीघाटको पक्की पुल, दौलतपुरको पुल, सीमा क्षेत्रमा निर्माण गर्ने भनिएको प्रवेशद्वार लगायतका योजनाको बजेट काटिएको बताए ।
उनले भारतीय तीर्थयात्रीलाई टीकापुरको बाटो हुँदै कैलाश मानसरोवर पुर्याउने अभियान सार्थक गर्न सके यस क्षेत्रको मुहार फेरिने कुरामा शंका नरहेको बताए ।