यातायात व्यवस्था विभागले ४ घण्टाभन्दा बढी दुरीमा चल्ने सार्वजनिक सवारीसाधन कम्तीमा आधा घण्टा नरोके कारबाही गर्ने भएको छ। त्यसैगरी २ सय ५० किलोमिटरभन्दा बढी यात्रामा निस्कने सवारीमा २ जना चालक अनिवार्य रूपमा नराख्ने सवारीमाथि कारबाही गर्ने चेतावनी विभागले दिएको छ।
मलङ्गवाबाट काठमाडौं आउँदै गरेको ४० भन्दा बढी यात्रु बोकेको बस त्रिशूलीमा खसेको घटनापछि विभागले सार्वजनिक सूचना जारी गरेर यस्तो चेतावनी दिएको हो।
विभागले कानुनमा भएको व्यवस्था प्रभावकारी रूपमा परिपालना नभएको गुनासो आएको भन्दै सोअनुसार लामो दुरीमा चल्ने सवारीमा दुई चालक अनिवार्य नराखे प्रचलित कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०३ मा ‘४ घण्टाभन्दा बढीको दुरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक ४ घण्टामा एकपटक आधा घण्टा विश्राम गर्नुपर्ने’ व्यवस्था छ।
त्यसैगरी दफा १०४ मा ‘लामो बाटो (प्रस्थान स्थानबाट २ सय ५० किलोमिटर वा सोभन्दा बढी दुरीको गन्तव्यस्थान)मा यातायात सेवा सञ्चालन गर्ने यात्रुवाहक सार्वजनिक सवारीमा कम्तीमा दुईजना चालक अनिवार्यरूपमा राखी प्रत्येक ६ घण्टापछि पालैपालोसँग सवारी चलाउन लगाउने कर्तव्य यातायात सेवा संस्थान गर्ने व्यवस्थापन वा सवारी धनीको हुने’ व्यवस्था छ।
ट्रफिक प्रहरीको एक अध्यायनले अधिकांश सडक दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको देखाएको छ। ७८ प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीले हुने गरेको पाइएको छ। गएको ३१ वर्षमा त्रिशूलीमा मात्र २ सय ६९ बस खसेको तथ्याङ्क छ।
महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/७६ मा मुलुकभर ८ हजार ६ सय ११ सडक दुर्घटना भए। यी मध्ये सवारी चालकको लापरवाहीका कारणमात्र ७ हजार ५ सय २९ दुर्घटना भएका छन्।
गत आर्थिक वर्षमा भएका दुर्घटनामा परी २ सय ५४ जनाको मृत्यु भएको थियो। ती घटनामा ३ सय १७ गम्भीर घाइते र ५ हजार ८ सय ९० जना साधारण घाइते भएका थिए। मृत्यु भएकामा पुरुषको संख्या १ सय ९६ थियो भने महिला ५८ थिए।
ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार गत वर्ष भएका दुर्घटनामा चालकको लापरवाहीका कारण ७ हजार ५ सय २९, तीव्र गतिका कारण ५ सय २५, मादकपदार्थ सेवन गरेका कारण २ सय ८३, यान्त्रिक गडबडीका कारण ६७, ओभरटेकका कारण ७५, पैदलयात्रुको लापरवाहीका कारण ३, सडकको अवस्थाका कारण २६ र अन्य (मौसम र चौपाय) का कारण ३ सडक दुर्घटना भएका थिए।