उप–महानगरमा भएको सबै अतिक्रमण हटाउनका लागी समिति नै गठन गरेर काम थालेका जनप्रतिनिधिले सो कामलाई निरन्तरता दिन सकेका छैनन् ।
धनगढी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरिको संयोजकत्वमा अतिक्रमण खाली गराउन समिति गठन गरिएको थियो । सुरुवाती चरणमा जनप्रतिनिधिमा देखिएको सक्रियताले अतिक्रमित सरकारी जमिनको अतिक्रमण हट्ने आशामा रहेको स्थानीय बासी हाल निराश भएका छन् ।
सुरुमा जनप्रतिनिधिहरूले गरेजस्तो मात्रै गरे पनि कामलाई निरन्तरता नदिँदा सो मेहनत बालुवामा पानी हालेझैँ भएको स्थानीय कृष्ण चौधरीले बताए । ‘जनताले मत दिएर जिताएका जनप्रतिनिधिले त यसमा कठोर भई लाग्नुपर्ने हो,’ उनले भने’ अब त कुनै आशा छैन’ जनप्रतिनिधि आएपछि झनै अतिक्रमण बढेको छ ।’
खोलानाला अतिक्रमण हटाउ समितिका संयोजक सन्तोष मुडभरी भने अतिक्रमण हटाउने अभियान जारी रहेको बताउँछन् । ‘सुरुवाती चरणमा केही ठाउँमा अतिक्रमण हटाएको र अन्य ठाउँको नाप्ने काम जारी रहेको छ, उनले भने’ प्राविधिकहरूले नाप नक्साको काम गरिरहेकाले सो काम सम्पन्न भएसँगै अतिक्रमण हटाउने काम अगाडी बढ्छ ।’ उप–महानगरका मेयर नृप बहादुर वडले उपमहानगर क्षेत्रमा भएको अतिक्रमण हटाउन यस वर्षको नीति तथा कार्यक्रममै उल्लेख गरिने बताए ।
अतिक्रमण भएको सार्वजनिक जमिनबाट जुनसुकै हालतमापनि अतिक्रमण हटाउने उनको दाबी छ । उपमहानगर क्षेत्रमा भएको अतिक्रमणमा यस अघि कतिपयलाई जग्गाधनी प्रमाण पुर्जा समेत वितरण भइसकेको छ ।
त्यसले पनि अतिक्रमण हटाउन समस्या सिर्जना भएको हो । स्थानीय नागरिकले भने खोलानाला र सरकारी जमिनको अतिक्रमणलाई जसरी पनि हटाउन माग गरेका छन् ।
