सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कामकाज त्यहाँ कार्यरत कर्मचारीहरुले आफ्नै निवासबाट गर्ने गरेका छन्।
विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा झण्डै तीन महिनादेखि नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले गरेको तालाबन्दी गरेको छ । तालाबन्दी गरिएको विश्वविद्यालयको काम रजिस्टार गोविन्द बिष्टको निवासबाटै सम्पादन गर्ने गरेको पाइएको छ ।
केन्द्रीय कार्यालयमा लागेको ताला खोल्न कदम चाल्नुको साटो विश्वविद्यालयका पदाधाकारीहरु त्यसबाट पन्छिएर भूमिगत शैलीमा रजिस्टारको सरकारी निवासबाट कार्य सम्पादन गर्ने गरेका विद्यार्थीहरुको आरोप छ । गत २७ चैतमा नेपाल विद्यार्थी संघले उपकुलपति तथा रजिस्टारको नियुक्तिको विषयलाई लिएर विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो ।
तीन महिनादेखि बन्द रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालय खोल्ने प्रक्रिया आन्दोलत पक्ष र विश्वविद्यालय पदाधिकारीबीच एक अर्काको आरोप प्रत्यारोपमा अल्झिएको छ । विश्वविद्यालयका पदाधिकारीहरु ताला खोल्ने बिषयमा वार्तामा बस्न नखोजेका कारण तालाबन्दी खुल्न नसकेको आन्दोलनरत नेपाल विद्यार्थी संघका एक नेताले बताए ।
भूमिगत शैलीमा जिम्मेवारीबाट पछि हटेर विश्वविद्यालयका पदाधिकारीहरुले रजिस्टारको सरकारी निवासबाट दैनिक कामकाज सञ्चालन गरिरहेका तर केन्द्रीय कार्यालयमा तीन महिनादेखि लागेको ताला खोल्नमा कुनै चासो नदेखाएको विद्यार्थीहरुको आरोप छ । भूमिगत शैलीमा केन्द्रीय कार्यालयबाट विश्वविद्यालयका स्रोत साधन ढुवानी गरेर रजिस्टार कार्यालयबाट कार्य सम्पादन गरेको नेविसंघको दाबी छ ।
विश्वविद्यालयका कागजपत्र रजिस्टारको निवासमा सारी त्यहाँबाट नै कार्य सम्पादन गरिरहेको अवस्थामा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले भेटाएको जनाएको छ । विश्वविद्यालयको स्रोत साधनको प्रयोग गरेर विश्वविद्यालयका कामकाज बाहिर गर्न नपाउने नियम छ ।
रजिस्टार कार्यालयमा अनिश्चितकालिन तालाबन्दी
यसैबीच भूमिगत शैलीमा विश्वविद्यालयका कर्मचारीहरुले गरिरहेको गतिविधिलाई समेत नेपाल विद्यार्थी संघले बन्देज लगाएको जनाएको छ। नेपाल विद्यार्थी संघले रजिस्टारको सरकारी कार्यालयमा बुधवार अनिश्तिकालिन तालाबन्दी गरेको छ । केन्द्रीय कार्यालयमा तालाबन्दी रहेको अवस्थामा विश्वविद्यालयका स्रोत साधन प्रयोग गरी रजिस्टारको कार्यालयबाट पछिल्ला गतिविधि प्रस्तुत गरिरहेकोले तालाबन्दी गरिएको नेपाल विद्यार्थी संघका तत्कालिन सहमहामन्त्री अच्युतराज कलौनीले बताए ।
‘रजिस्टारको कार्यालयबाट दैनिक कामकाज गरिरहेको अवस्था भेटिएको छ । केन्द्रीय कार्यालयको तालाबन्दी खोल्न कुनै पहल गरिएको छैन।’, उनले भने, ‘हाम्रो मागलाई लत्याउँदै कामकाज गरिरहेका भेटिएकाले तालाबन्दी गरिएको हो।’

रजिष्ट्रार निवासमा तालाबन्दी
काँग्रेस निकट नेपाल विद्यार्थी संघले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार गोबिन्द विष्टको निवासमा तालाबन्दी गरेको छ ।
यस अघि नेवि संघले विश्वविद्यालयमा उपकुलपति पुर्ण बहादुर चन्द र रजिष्ट्रार गोबिन्द विष्टको नियुक्तीको विषयमा केन्द्रीय कार्यालयमा लगाएको तालाबन्दीको विषयमा कुनै सुनुवाई नगरेकाले रजिष्ट्रार निवासमा तालाबन्दी गरिएको जनाएको छ ।
नेवि संघ कञ्चनपुरका नेता नागेश पन्तले संघले उठाएका मागका विषयमा वेवास्ता गरेका कारण तालाबन्दी गरिएको बताए । गत चैत्रमा लगाएको तालाबन्दी नखुलेपछि रजिष्ट्रार निवासबाट काम कार्बाही गरिएको भन्दै नेवि संघले अनिश्चितकालका लागि तालाबन्दी गरेको जनाएको छ । सुप विश्वविद्यालयले तालाबन्दीको विषयमा पहल भईरहेको जनाएको छ ।
सवारी साधन नियन्त्रणमा

नेपाल विद्यार्थी संघका विद्यार्थीले विश्वविद्यालयका तीन सवारी साधन समेत नियन्त्रणमा लिएका छन्। केन्द्रीय कार्यालय बन्द रहेको अवस्थामा कार्यालय प्रयोजनमा प्रयोग हुने सवारी साधन प्रयोग गरिएको भेटिएकोले सो सवारी साधन समेत नियन्त्रणमा लिइएको नेविसंघका नेता प्रकाश थापाले बताए।
विश्वविद्यालयमा रहेका चार सवारी साधनमध्ये परीक्षा नियन्त्रण कार्यालयको सवारी साधन बाहेक अन्य बा.१०.च ९३४४, बा.९ च ६३६१ र बा.१२ च ५४७१ नम्बरको सवारी साधन नियन्त्रणमा लिएका हुन्। ती तीन सवारी साधन नियन्त्रणमा लिएर नचलाउने सर्तमा विश्वविद्यालयलाई नै बुझाइएको नेपाल विद्यार्थी संघका नेता किशोर प्रसाद जोशीले बताए। आफूहरुको माग तत्काल सम्बोधन नभए कडा आन्दोलनमा जाने नेविसंघले चेतावनी दिएको छ ।
विश्वविद्यालयका रजिस्टार गोविन्द बिष्टले आफू जिल्ला बाहिर रहेको बताउँदैे तालाबन्दीको खबर टेलिफोनबाट सुनेको बताए। ‘वार्तामा बस्दैनन् जहिले पनि तालाबन्दी मात्र गर्छन् । तालाबन्दी गर्ने भए विश्वविद्यालय नै बन्द गरे भयो । हामी पनि घर बस्छौँ’ उनले भने ।