बयानका लागि बोलाइएका अन्य जग्गाधनी उपस्थित नभएपछि आयोगले बुधबार पत्रिकामार्फत सात दिनभित्र उपस्थित हुन ८६ जनाको नाममा सूचना जारी गरेको छ । सूचना जारी भएकाहरूमा बिचौलिया शोभाकान्त ढकालकी श्रीमती उमाकुमारी ढकाल, छोरी लक्ष्मी ढकाल, भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङका छोरा कल्याण गुरुङ, रामप्रसाद सुवेदीकी श्रीमती माधवी सुवेदीलगायत छन् ।
राणा परिवार तथा गुठियारको नामबाट जग्गा उनीहरूको नाममा नामसारी गरिएको थियो । उमाकुमारीको नामबाट नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव विष्णु पौडेलका छोरा नवीनको नाममा आठ आना जग्गा नामसारी भएको थियो । त्यसरी जग्गा किन्नेहरूलाई भने आयोगले बोलाएको छैन । सात दिनभित्र उनीहरू उपस्थित नभए सबैलाई प्रतिवादी बनाएर मुद्दा चलाउने आयोगको तयारी छ । ‘छानबिन अन्तिम चरणमा पुगेको छ,’ आयोगका एक उच्च अधिकारीले भने,‘अब थप केही बुझ्न र बयान मात्र बाँकी छ ।’ यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।