डडेल्धुरा– डडेल्धुरा नवदुर्गा गाउँपालिकाको एक क्वारेन्टाइनमा बसेका युवालाई मदिरा सेवन गराइ घर लगेको खुलेको छ । नवदुर्गा गाउँपालिका–५ मा गाउँको सिगास प्राबिमा बसेका एक युवालाई उनका बुवाले नै मदिरा सेवन गराइ घर लगेका हुन् ।
भारतको गुजरातबाट आएका रनि बिक नाम गरेका स्थानीयलाई उनका बुवा बिर बिकले क्वारेन्टाइन भित्रै गइ छोरालाईसमेत मदिरा ख्वाएर राती लगेका हुन् । अहिले उनी प्रहरी नियन्त्रणमा छन् ।
गाउँपालिका सरकारले पनि आफूलाई कुनै सहयोग नगरेको भन्दै मदिराको मातमा वडा लगायत तीनै तहको सरकारलाई गाली गर्दै बिकका बुवाले भारतबाट आएका छोरालाई जबरजस्ती घर लगेको वार्ड नं ५ का अध्यक्ष धनबहादुर साउदले बताए । अध्यक्ष साउदले भने, ‘आफूले सकेसम्म क्वारेन्टाइनमा बस्ने र बसिरहेकालाई राम्रो व्यवस्था गरेको छु । आफू र अरुलाई सुरक्षित राख्न सके जतिको व्यवस्थापन गरेका छौं ।’
बिकले आफ्नो छोराको बिहे गरेको बताउँदै मदिरा सेवन गरी वडा अध्यक्षलाई धम्काउदै बुधबार राती घर लगेको स्थानीयले बताए । एक रात घरमा गइ श्रीमतीसँग बसेका रनिलाई बिहीबार स्थानीयको विरोधपछि प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले त्यस क्वारेन्टाइमा चार जना थप भएका छन् । बिजयशैन माविमा चार महिला र अन्य पुरुष गरी भारतबाट घर फर्किएका स्थानीयको संख्या ७० छ ।
गाउँमा गुनासो बढेपछि गस्तिमा खटिएको शसस्त्र प्रहरीले बुवा छोरा दुई जनालाई नै चमा गाउँबाट ल्याइ अमरगढी नगरपालिका–७ पोखरा चौकीलाई बुझाएको शसस्त्र प्रहरी नायव उपरीक्षक भुवन पन्तले बताए । शसस्त्र प्रहरीको गस्ति टोली त्यस क्षेत्रमा गएको र स्थानीयको विरोधपछि ती दुई जना बुवा छोरालाई ल्याई प्रहरीको जिम्मा लगाएको उनले बताए ।
अवैध मदिराले क्वारेन्टाइन सुरक्षामा चुनौती
डडेल्धुरामा अवैध गरिएको मदिरा सेवन गरी गराइ बिकले क्वारेन्टाइनबाट आफ्नो छोरालाई घर लगेपछि स्थानीयले विरोध जनाएका थिए । अवैध मानिएको मदिरा नबेच्न प्रहरीले व्यापारीलाई आग्रह गरी फर्कको छ ।
प्लास्टिकको बोतलमा पाइने पुकार नामको डडेल्धुरामा अवैध मानिएको मदिरा त्यहाँका व्यापारीले खुलेआम बिक्री वितरण गर्दै आएका छन् । जिल्लाका अन्य स्थानीय तहमासमेत पुकार, लिची नामका मदिरा खुलेआम बेचिरहेका छन् । स्थानीयतहले मदिरा निषेध क्षेत्र घोषणा गरेका भए पनि ग्रामीण भेगमा भने प्रशस्त पाइन्छ । नवदुर्गा ५ मा पनि बाबुले सोही मदिरा सेवन गरी र छोरालाई समेत सेवन गराइ क्वारेन्टाइनबाट घर लगेका थिए ।