धनगढी २८ कार्तिक/नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा शिक्षा उद्यमी शान्ति अधिकारीले पार्टी परित्याग गरेकी छन्। धनगढी उपमहानगरपालिकाको उपप्रमुख पदमा २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकी अधिकारीले पार्टी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आबद्ध भएकी हुन्।
रास्वपा सुदूरपश्चिमका महामन्त्री सन्तोष जोशीले अधिकारीलाई पार्टीमा स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। अधिकारी धनगढीस्थित एरिस्टो बोर्डिङ स्कुलकी सञ्चालकसमेत हुन्। यसैगरी साहित्यिक तथा शैक्षिक क्षेत्रमा परिचित उपप्राध्यापक एवं साहित्यकार डा. तुलसी शर्मा जोशी पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएकी छन्।