काठमाडौं, १० कात्तिक/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य आदर्श मल्लले स्वर्णिम वाग्लेलाई लक्षित गर्दै राष्ट्रिय हित, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानको पक्षमा आवाज उठाउनु कुनै अपराध नभएको बताएका छन्।मल्लले नेपालको इतिहास, कूटनीतिक परम्परा र राष्ट्रिय स्वाभिमानले सधैँ आफ्नो राष्ट्रिय हितको पक्षमा उभिन सिकाएको उल्लेख गर्दै कुनै पनि मित्रराष्ट्रको नीतिले नेपालको हितमा आँच पुर्याए त्यसको आलोचना गर्नु स्वाभाविक भएको बताएका छन्।
नेपाल कुनै देशको विरोधमा नभई आफ्नै राष्ट्रिय हित, सार्वभौमिकता र स्वाभिमानको पक्षमा उभिँदै आएको उनको भनाइ छ। कुनै देशको नीतिको विरोध गर्नु र उक्त राष्ट्रप्रति शत्रुता राख्नु फरक विषय भएको उल्लेख गर्दै मल्लले लोकतन्त्रमा प्रश्न उठाउनु विरोधका लागि विरोध गर्नु नभई राष्ट्रिय हितको पक्षमा उभिनु भएको बताएका छन्।
उनले विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाले समेत नेपालको हितविपरीत नीति अवलम्बन गरे त्यसको आलोचना हुनुपर्ने धारणा राखेका छन्। राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको सवालमा नेपाल सगरमाथाझैँ अटल रहेको उल्लेख गर्दै उनले नेपालीको हितमा आवाज उठाउनु प्रत्येक स्वाभिमानी नागरिकको जिम्मेवारी भएको बताएका छन्।नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको मित्रवत् सम्बन्धको महत्त्वलाई स्वीकार गर्दै मल्लले मित्रता कायम राख्नु र आफ्नो राष्ट्रिय हितमा अडिग रहनु परस्पर विरोधी विषय नभएको बताएका छन्।
स्वर्णिम वाग्लेलाई लक्षित गर्दै उनले ज्ञान र पदका आधारमा कसैलाई पनि आलोचनाभन्दा माथि राख्न नमिल्ने धारणा व्यक्त गरेका छन्। विशेषगरी परराष्ट्रमन्त्रीको अभिव्यक्ति व्यक्तिगत विचारमा मात्र सीमित नरहने भन्दै त्यसले राष्ट्रको कूटनीतिक दृष्टिकोणसमेत प्रतिबिम्बित गर्ने भएकाले अभिव्यक्तिमा जिम्मेवारी र राष्ट्रिय हितप्रतिको प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ।
आफूले व्यक्त गरेको विचार नै अन्तिम सत्य हो भन्ने आत्मविश्वासले कूटनीतिक परिपक्वताको स्थान लिन नसक्ने उल्लेख गर्दै मल्लले राष्ट्रिय मुद्दामा विचार व्यक्त गर्दा देशको हित र कूटनीतिक मर्यादालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएका छन्।