धनगढी,८ कार्तिक / कञ्चनपुरको बेलडाँडीमा बस्ती नजिकै पाटेबाघ देखिएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
बेलडाँडी गाउँपालिका–५ स्थित इमलिया चमनचोक नजिक बस्तीतर्फ आउँदै गरेको पाटेबाघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जडान गरेको क्यामेरामा कैद भएको हो। बाघको गतिविधि देखिएपछि निकुञ्जले स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ।
निकुञ्जअन्तर्गत बेलडाँडी रेञ्जर पोस्टका प्रमुख रेञ्जर निम चौधरीका अनुसार बाघलाई बस्तीबाट जंगलतर्फ धपाउन हात्तीसहितको टोली परिचालन गर्ने तयारी भइरहेको छ। उनले उक्त क्षेत्रमा आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
पछिल्लो समय बेलडाँडीसहित कञ्चनपुरका विभिन्न क्षेत्रमा जंगली हात्ती र पाटेबाघको गतिविधि बढ्दै गएको छ। वन्यजन्तुले बालीनाली नष्ट गर्ने, घरपालुवा जनावरमाथि आक्रमण गर्ने तथा बस्तीमा प्रवेश गर्ने घटनाले स्थानीय चिन्तित छन्।
यसैबीच, वन तथा वातावरणमन्त्री गीता चौधरीले बस्तीमा क्षति पुर्याउने हात्तीमा रेडियो कलर जडान गर्ने तयारी भइरहेको बताएकी छन्। रेडियो कलर जडान भएपछि हात्तीको अवस्थिति पत्ता लगाउन र जोखिममा रहेका बस्तीका नागरिकलाई समयमै सतर्क गराउन सहज हुने अपेक्षा गरिएको छ।