कञ्चनपुर, ३१ असोज / भारतसँग सीमा जोडिएको कञ्चनपुरको गड्डाचौकी नाकामा सशस्त्र प्रहरीले लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्न तालिमप्राप्त दुई कुकुर परिचालन गरेको छ ।
अल्फा र डेल्टा नामका कुकुरलाई गड्डाचौकीस्थित सशस्त्र प्रहरीको सीमा सुरक्ष बल गुल्ममा राखेर नियमित रूपमा सीमा क्षेत्रमा परिचालन गरिन लागेको हो । अल्फाले लागूऔषध पत्ता लगाउनेछ भने डेल्टाले हातहतियार तथा विस्फोटक पदार्थ पहिचान गर्नेछ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार, दुवै तालिमप्राप्त कुकुर गड्डाचौकी गुल्ममै रहनेछन् ।
आवश्यकता अनुसार उनीहरूलाई सीमा क्षेत्रमा सुरक्षा जाँच तथा निगरानीका लागि परिचालन गरिने सशस्त्रले जनाएको छ ।
लागूऔषधको समस्या कञ्चनपुरमा जटिल बन्दै गएको अवस्थामा तालिमप्राप्त कुकुर परिचालनले नियन्त्रणको प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकाश थापाले सशस्त्र प्रहरीले राम्रो कामको सुरुवात गरेको बताए । उनले कञ्चनपुरमा लागुऔषधको समस्या जटिल बन्दै गएको र भारतबाट लागुऔषध ल्याउने क्रम बढ्दो रहेकाले तालिमप्राप्त कुकुर परिचालनले केही हदसम्म नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरेको बताए ।
त्यस्तै, प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले सीमा क्षेत्रमा तालिमप्राप्त कुकुरको आवश्यकता रहेको बताए ।मानिसले पहिचान गर्न नसकेका शंकास्पद वस्तु तथा पदार्थ कुकुरले पत्ता लगाउन सक्ने भएकाले यो प्रभावकारी कदम भएको उनको भनाइ छ ।
भारतसँग सीमा जोडिएको गड्डाचौकी नाकामा हुने आवतजावतलाई सुरक्षित बनाउनुका साथै लागुऔषध, हातहतियार तथा विस्फोटक पदार्थको अवैध ओसारपसार नियन्त्रणमा कुकुर परिचालनले सहयोग पुग्ने छ ।
तालिमप्राप्त कुकुरको नियमित परिचालनले सीमा क्षेत्रमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउने र शंकास्पद वस्तु पहिचान गर्न सहज हुने सशस्त्र प्रहरीले जनाएको छ ।