बैतडी, २१ असोज / रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बैतडीको पाटन नगरपालिका–९, विजयपुरस्थित ज्ञानेश्वर माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले एक लाख ३० हजार ६८२ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
विद्यालयमा कार्यरत २३ जना शिक्षक तथा कर्मचारीले भदौ महिनाको तलबबाट निश्चित दिनको पारिश्रमिक कट्टी गरी उक्त रकम जुटाएका विद्यालयका प्रधानाध्यापक पुष्पराज जोशीले बताए ।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मंगलबार जम्मा गरिएको विद्यालयका लेखापाल वसन्त विष्टले जानकारी दिए ।
राष्ट्रसेवक कर्मचारीकातर्फबाट गर्न सकिने सहयोग स्वरुप उक्त रकम संकलन गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बिष्टले बताए ।