धनगढी, २१ असोज / प्रसिद्ध पर्यटकीय र धार्मिक पिठ बडीमालिकाको प्राकृतिक वातावरण कायम राख्न मंगलबार साँझसम्म सरसफाइ अभियान चलाइएको छ ।
बाजुरामा रहेको बडिमालिका क्षेत्रका भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालित बडीमालिका मन्दिरको पूजाआजाका क्रममा पुगेका यात्रुले गरेको फोहर नष्ट गरेर प्राकृतिक वातावरण कामय गर्न सरफाइ अभियान सञ्चालन गरेको आयोजक बडीमालिका नेचर प्रालि बाजुराका कार्यकारी निर्देशक गणेश थापाले बताए।
बडिमालिकामा शुक्ल चतुर्दशीका दिन मुख्य पूजाआजा तथा मेला लाग्ने गर्छ । यस पटक भदौ ११ गते मुख्य पूजा भएको थियो । बडीमालिकाका नगरपालिकाका प्रमुख अम्मरबहादुर खड्काकाअनुसार यस पटक भदौ १ देखि ११ गतेसम्म करिब ६५ हजार श्रद्धालुले बडीमालिका मन्दिरमा पूजा गरेका थिए ।
विगतका वर्षमा ३० हजारको हाराहारीमा साउन, भदौ महिनमा पर्ने शुक्ल चर्तुदशीका बेला श्रद्धालुहरु बडीमालिका जाने गरेका थिए ।
पूजाआजाका क्रममा आएका धार्मिक पर्यटकले बडिमालिकामा छोडेको फोहर व्यवस्थापन भएको छ । आज त्रिवेणी क्षेत्रमा छोडेको फोहर संकलन गरेर नष्ट पारिने अध्यक्ष थापाले बताए। बडीमालिकामा ४० क्विन्टल फोहर संकलन गरेर नष्ट गरिएको बडीमालिका नेचरका अध्यक्ष कृष्ण ओलीले बताए ।
बडीमालिका मेलाको क्रममा बडीमालिकामा हरेक दिन पाँचसय र त्रिवेणीमा एक हजार टेन्ट लगाइएको अनुमान छ । आउटडोर कफि र यताउता एडभेन्चर काठमाडौले बडीमालिकाको जाडो थाम्ने जाकेट उपलब्ध गराएकोले सरसफाइ गर्न सहज भएको र सरसफाइ अभियानमा १६ जना युवा सहभागी रहेको कार्यकारी बडीमालिका नेचरका निर्देशक थापाले बताए ।
बडीमालिकाभन्दा त्रिवेणीमा झण्डै दोब्बर फोहर संकलन हुने अनुमान बडीमालिका नेचरले गरेको छ । भगवान महादेवकी पत्नि सतिदेवीको अङ्गपतन भएकाले सो क्षेत्रलाई शक्तिपीठ मानेर हरेक वर्ष पूजाआजा हुने गरेको छ । बडिमालिका चार हजार दुईसय मिटरको उचाइँमा रहेको छ ।
तीनवटा चुचुरा रहेको बडीमालिकामा हिउँद महिना बाक्लो हिँउ पर्ने भएकाले फागुनदेखि असोजसम्म मात्र आवत–जावत गर्न सकिन्छ । सो क्षेत्रमा मुख्य यात्रा समय भने साउन भदौ वा त्यही समयको शुक्ल चतुर्दशीको वरपरको समय मानिन्छ । बडीमालिकाको दर्शन गर्न नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै धर्मालम्बीहरु जाने गर्छन् ।
बडीमालिकामा यसैवर्ष नेपाल टेलिकमले टेलिकमको टावर राखेकोले मोवाइलको नेटवर्क सजिलै लाग्ने भएकाले आगामी वर्षहरुमा झन धेरै आन्तरिक पर्यटक बढ्ने अनुमान बडीमालिकाका प्रमुख खड्काको छ । नेचर बडीमालिकाले हरेक वर्षको मुख्य मेलापछिको समयमा सरसफाइ अभियान चलाउने जनाएको छ ।