बैतडी, २१ असोज / चाडपर्व नजिकिएसँगै बैतडीका स्थानीय बजारमा किनमेल गर्ने उपभोक्ताको चहलपहल बढेको छ । दसैँ, तिहार र छठ जस्ता ठुला पर्वका लागि घरायसी तथा खाद्यान्न सामग्री खरिद गर्नेको सङ्ख्या बढेसँगै बजारमा भिडभाड बढेको हो ।
चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको बिक्री बढ्ने गरेको स्थानीय व्यापारी कृष्ण भाटले बताए । पर्वका लागि खाद्यान्न, लत्ताकपडा तथा अन्य घरायसी सामग्री खरिद गर्ने उपभोक्ता बढ्न थालेपछि बजारमा व्यापारिक गतिविधिसमेत बढेको उनले बताए।
उपभोक्ताले भने बजारमा अधिक मूल्यवृद्धि भएको गुनासो गरेका छन् । पाटन नगरपालिका–६ की स्थानीय उपभोक्ता वसन्ती भट्टले चिनी, खानेतेललगायत खाद्यवस्तुको मूल्य पछिल्लो समय उल्लेख्य बढेको बताए। बजारमा चिनीको मूल्य प्रतिकिलो १५० रुपियाँसम्म पुगेको उनको भनाइ छ ।
उपभोक्तालाई सहुलियत दिन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पाटनमा सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ । असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन हुने पसलबाट प्रतिकिलो एक सय रुपियाँमा चिनी बिक्री भइरहेको साल्ट ट्रेडिङ कर्पोरेसन बैतडी शाखाका प्रमुख प्रेमसिंह कठायतले बताए ।
उनले सुपथ मूल्य पसल सञ्चालनमा आएपछि चिनी खरिद गर्न उपभोक्ताको भिड लाग्ने गरेको बताए । चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको माग बढ्ने र बजार मूल्यसमेत बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर सहुलियत दरमा खाद्यान्न उपलब्ध गराउन सुपथ मूल्य पसल सञ्चालन गरिएको उनको भनाइ छ ।
पसलबाट चिनी, नुन, खानेतेल, दाललगायत दैनिक उपभोग्य वस्तु बजार मूल्यभन्दा प्रति दुईदेखि सात रुपियाँसम्म सस्तोमा उपलब्ध गराइँदै आएको छ । एक जना उपभोक्ताले दैनिक पाँच किलो चिनी, पाँच लिटर खाने तेल, छ किलो नुन र पाँच किलो दालसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।
सुपथ मूल्य पसलमा दैनिक दुई सयदेखि २५० जनासम्म उपभोक्ता आउने गरेको शाखाले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा सञ्चालन गर्दै आएको जनाएको छ । चिनीको माग बढ्दै गएपछि आपूर्तिमा दबाब पर्न थालेको साल्ट ट्रेडिङ कर्पोरेसन प्रदेश कार्यालय कैलालीका प्रमुख तेजबहादुर कुँवरले बताए।
माग निरन्तर बढेमा हाल एक जना उपभोक्तालाई उपलब्ध गराउँदै आएको पाँच किलो चिनीको परिमाण घटाएर तीन किलो कायम गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ । सुपथ मूल्य पसलमा समेत माग अनुसार सामग्री नपाएको भन्दै उपभोक्ताले गुनासो गर्न थालेका छन् ।