धनगढी, १८ असोज / कैलालीको धनगढी उपमहानगरपालिका–१२ मा फोहर संकलन दौड प्रतियोगिता हुने भएको छ । दरबार स्कुल र जेष्ठ नागरिक चिया घरको आयोजनाका दौड प्रतियोगिता हुन लागेको हो ।
आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी दिएको छ । उक्त दौड प्रतियोगितामा प्रथम हुनेलाई १० हजार,द्वितीयलाई ५ हजार र तृतीयलाई २ हजार ५ सय पुरस्कार राशी राखिएको प्रतियोगिताका संयोजक किरण सञ्जेलले जानकारी दिए ।
उनले बिगत ९ हप्तादेखि वडाका विभिन्न टोलमा सरसफाइ गर्दै आएको बताउँदै १०औँ हप्ताको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए ।
उनका अनुसार प्रतियोगितामा ५ किलोमिटरको दुरीमा ४५ मिनेटभित्र बढी प्लाष्टिकजन्य फोहर संकलन गरेर ल्याउने पहिलो,दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिने छ ।
प्रतियोगिता यही असोज २४ गते बिहान ७ बजेबाट सुरु गरिने बताए । प्रतियोगितामा वडाबासी स्वस्थ निरोगी नागरिकलाई सहभागी हुन आग्रह गरे । सरसफाइ गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न र लागूऔषध दुर्व्यशनी रोक्ने उदेश्यले सरसफाई कार्यक्रम आयोजना गरिदै आएको उनले बताए ।
दरबार स्कुलका सञ्चालक पृथ्वी शाहले धनगढी उपमहानगरपालिकाको ‘हाम्रो धनगढी,सफा धनगढी’ कार्यक्रमलाई टेवा पुर्याउने उद्देश्यले विगत ९ हप्तादेखि वडाका विभिन्न टोलमा सरसफाई कार्यक्रम आयोजना गरिदै आएको बताए ।