बैतडी, १६ असोज / बैतडीको सुर्नया गाउँपालिकाले पालिकाभित्रका कृषकहरूलाई किसान सूचीकरण प्रणालीमा दर्ता हुन आग्रह गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राप्त पत्रानुसार स्थानीय तहबाट सञ्चालन हुने वार्षिक स्वीकृत तथा सशर्त कृषि र पशुपन्छी कार्यक्रमहरूको सेवा सुविधा लिन किसान परिचयपत्र अनिवार्य गरिएकाले सूचीकरण आह्वान गरिएको हो ।
गाउँपालिकाको कृषि विकास शाखाले सूचना जारी गर्दै वडा नं। १ देखि ८ सम्मका सूचीकरण हुन छुट्नुभएका सम्पूर्ण कृषक, कृषि फर्म, कृषि समूह, सहकारी तथा कृषि सम्बद्ध सङ्घ–संस्थाहरूलाई आवश्यक कागजातसहित सम्पर्क गर्न आग्रह गरेको छ ।
सूचीकरणका लागि नेपाली नागरिकताको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जा ९लालपुर्जा० वा जग्गा स्वामित्व खुल्ने आधिकारिक कागजात र कृषि पशुपन्छी फर्म दर्ता भएको हकमा फर्म दर्ता तथा नवीकरणका सम्पूर्ण कागजातहरू आवश्यक पर्नेछ । गाउँपालिकाले हालसम्म प्रणालीमा दर्ता भइसकेका कृषकहरूको परिचयपत्र प्रमाणीकरण प्रक्रियामा रहेको समेत जनाएको छ ।