धनगढी, १६ असोज / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट २१ वर्षीय रोशनी शाह महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन्। युवा महिलातर्फ उम्मेदवारी दिएकी शाहले ३४७ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनका निकटतम प्रतिस्पर्धी भगवती जोशीले २५० मत प्राप्त गरिन्। शाह ९७ मतको अन्तरले विजयी भएकी हुन्।
सानै उमेरमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिजस्तो पार्टीको महत्वपूर्ण नीति निर्माण तहमा पुग्ने अवसर पाएकी शाह विद्यार्थी राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएकी छन्।
शाह ऐश्वर्य बहुमुखी क्याम्पस, धनगढीमा बीबीएस चौथो वर्षमा अध्ययनरत छिन्। उनी नेपाल विद्यार्थी संघ (नेविसंघ) को तर्फबाट ऐश्वर्य बहुमुखी क्याम्पसको वर्तमान स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यसमेत हुन्।
सानै उमेरदेखि राजनीतिमा सक्रिय शाहले विद्यार्थी राजनीति हुँदै कांग्रेसको महाधिवेशन प्रतिनिधिसम्मको यात्रा तय गरेकी हुन्। उनको निर्वाचितसँगै कांग्रेसको क्षेत्रीय प्रतिनिधित्वमा युवा, विद्यार्थी तथा महिलाको सहभागिताले थप स्थान पाएको छ।