धनगढी , १६ असोज / कैलालीको गौरीगंगा नगरपालिका–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
बिहीबार बिहान करिब ५ बजे सामुदायिक वनमा च्याउ टिप्न गएका गौरीगंगा नगरपालिका–६ चरीडाँडा बस्ने करिब ३८/४० वर्षीय कृष्ण चौधरीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। बाघको आक्रमणमा परी चौधरीको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
घटनाबारे बिहान ८ः०५ बजे इलाका प्रहरी कार्यालय चौमालामा जानकारी पुगेपछि प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशबहादुर शाहीको कमाण्डमा चार सदस्यीय प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।
प्रहरी टोली बिहान ८ः४५ बजे घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान तथा घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय चौमालाबाट करिब १३ किलोमिटर दक्षिण–पश्चिममा पर्छ।