धनगढी, १६ असोज / नेपाल विद्यार्थी संघ गोदावरी नगर सभापति दिलबहादुर बुढाथोकी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ४ बाट प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बुढाथोकी एभरेस्ट एकेडेमी स्कुल, अत्तरियाको नेपाल विद्यार्थी संघ इकाई सभापति हुँदै विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए। उनले धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका तर्फबाट स्ववियु सचिव पदमा समेत चुनाव लडेका थिए।
बुढाथोकी पछिल्लो समय पार्टी तथा भ्रातृ संगठनमा सक्रिय रहँदै सामाजिक क्षेत्रमा समेत विभिन्न गतिविधिमा संलग्न हुँदै आएका छन्। पार्टीका विभिन्न निर्वाचन तथा संगठनका गतिविधिमा विद्यार्थी संगठनको तर्फबाट विभिन्न भूमिकामा रहेर काम गर्दै आएको उनको भनाइ छ।
नेपाल विद्यार्थी संघ गोदावरी नगर सभापतिको जिम्मेवारीमा रहँदा उनले गोदावरी नगरपालिकाभित्रका विभिन्न विद्यालयमा लागुऔषध सेवनविरुद्ध जनचेतनामूलक अभियान सञ्चालन गर्नेदेखि विपन्न बस्तीमा जाडोका समयमा लत्ताकपडा वितरणसम्मका सामाजिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका छन्।
त्यस्तै, आर्यघाट सरसफाइ अभियान तथा क्याम्पसका स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघलाई सफल बनाउन पनि बुढाथोकीले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट कैलाली क्षेत्र नम्बर ४ को प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि बुढाथोकीले आगामी दिनमा पार्टी संगठनलाई थप मजबुत बनाउन तथा सामाजिक क्षेत्रमा आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउने बताएका छन्।