धनगढी, १६ असोज / सीमा पारिबाट सामान ल्याउने विषयलाई लिएर कैलालीको त्रिनगर–गौरीफन्टा नाकामा नागरिक र सुरक्षाकर्मीबीच विवाद बढ्न थालेको छ। सरकारले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुले निजी प्रयोजनका लागि ल्याउने सामानमा भन्सार छुटको सीमा ५ सय रुपैयाँ पुर्याएपछि त्यसको कार्यान्वयनका क्रममा नाकामा पटक–पटक विवाद हुने गरेको सुरक्षाकर्मीहरूको भनाइ छ।
यसअघि १ सय रुपैयाँभन्दा माथिका सामानमा भन्सार लगाउदा कार्यान्वयनमा चुनौती भएपछि दायरा केही बढाइएको थियो। सरकारले त्यसलाई संशोधन गर्दै ५ सय रुपैयाँसम्मका निजी प्रयोगका सामानमा भन्सार छुटको व्यवस्था गरेको हो। ५ सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भने प्रचलित नियमअनुसार भन्सार प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ।
तर सीमा क्षेत्रका नागरिकमा भने नयाँ व्यवस्थाबारे अझै पर्याप्त बुझाइ हुन नसकेको सुरक्षाकर्मीहरूको गुनासो छ। नियम कार्यान्वयनका क्रममा सामान रोक्ने वा भन्सार प्रक्रियाका लागि पठाउने विषयमा नागरिकसँग भनाभन तथा विवाद हुने गरेको उनीहरू बताउँछन्।
त्रिनगर–गौरीफन्टा नाकामा कार्यरत सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीले नागरिकलाई नियमबारे सम्झाउने र सहजीकरण गर्ने प्रयास गरे पनि कतिपय अवस्थामा उल्टै अभद्र व्यवहार सहनुपर्ने अवस्था आउने गरेको छ।
‘जुन नागरिकको सुरक्षाका लागि हामी खटिएका छौँ, तिनै नागरिकबाट अभद्र व्यवहार हुँदा काम गर्ने मनोबलमा असर पर्छ,’ नाकामा कार्यरत एक सुरक्षाकर्मीले भने।
उनका अनुसार नियमविपरीत सामान ल्याउने क्रममा रोकिएपछि कतिपयले सुरक्षाकर्मीसँग विवाद गर्ने र घटनाको भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने गरेका छन्। भिडियोमा सुरक्षाकर्मीको पक्ष र लागू भइरहेको नियमको सम्पूर्ण अवस्था नखुल्दा आफूहरू नै गलत देखिने अवस्था सिर्जना हुने गरेको सुरक्षाकर्मीको गुनासो छ।
‘नियम कार्यान्वयन गर्दा नागरिकलाई रोक्नुपर्ने अवस्था आउँछ। त्यस क्रममा भएको कुराकानीको एउटा पक्ष मात्र भिडियो बनाएर सामाजिक सञ्जालमा राखिदिँदा हामी नै गलत भएको जस्तो देखिन्छ,’ ती सुरक्षाकर्मीले भने।
सीमा नाकामा कार्यरत सुरक्षाकर्मीका अनुसार अहिलेको मुख्य चुनौती नियम कार्यान्वयनभन्दा पनि त्यसबारे नागरिकलाई बुझाउनु बनेको छ। भारतबाट दैनिक उपभोग्य तथा घरायसी सामान ल्याउने सीमावर्ती क्षेत्रका नागरिक लामो समयदेखि भारतीय बजारमा निर्भर रहेकाले नयाँ व्यवस्थालाई व्यवहारमा लागू गर्दा थप संवेदनशीलता देखिएको उनीहरूको भनाइ छ।
यसअघि १ सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार लगाउने व्यवस्था कार्यान्वयन गर्दा देशका विभिन्न सीमा नाकामा विवाद उत्पन्न भएको थियो। त्यही क्रममा सर्वोच्च अदालतले समेत सीमा क्षेत्रका स्थानीय बासिन्दाले व्यक्तिगत प्रयोगका न्यूनतम आवश्यक वस्तु तथा अत्यावश्यक र औषधिजन्य सामान ल्याउँदा सम्मानपूर्वक व्यवहार गर्न अन्तरिम आदेश दिएको थियो।
पछि सरकारले स्थलमार्गबाट आवतजावत गर्ने यात्रुले ल्याउन पाउने निजी प्रयोगका सामानमा भन्सार छुटको सीमा ५ सय रुपैयाँ पुर्याएको हो।
सरकारले भन्सार नियम कडाइ गर्नुको उद्देश्य वैधानिक रूपमा सामान भित्र्याउने व्यवस्था कार्यान्वयन गर्नु तथा स्वदेशी व्यापारलाई प्रवर्धन गर्नु रहेको बताउँदै आएको छ। तर सीमावर्ती क्षेत्रमा लामो समयदेखि भारतीय बजारसँग जोडिएको दैनिक जीवनका कारण नियम कार्यान्वयन गर्दा नागरिकको व्यवहार र सरकारी नीतिबीच असहजता देखिँदै आएको छ।
त्रिनगर–गौरीफन्टा नाकामा खटिएका सुरक्षाकर्मीहरूका अनुसार चाडपर्व नजिकिँदै जाँदा सीमापारि किनमेल गर्न जाने र सामान लिएर फर्किने नागरिकको संख्या बढ्ने भएकाले आगामी दिनमा यस्ता विवाद थप बढ्न सक्ने चुनौती छ।
उनीहरूले नागरिकलाई नियमबारे स्पष्ट जानकारी गराउने, सामानको मूल्य तथा प्रयोजनका आधारमा प्रक्रिया बुझाउने र नागरिकसँग संयमित व्यवहार गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
सुरक्षाकर्मीहरू भने सीमा सुरक्षासँगै नागरिकको सहज आवागमन र सरकारको नियम कार्यान्वयन दुवै आफ्नो जिम्मेवारी भएकाले नागरिकबाट पनि नियम पालना र सहजीकरणमा सहयोग आवश्यक रहेको बताउँछन्।