काठमाडौं, १५ असोज / धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभञ्ज्याङ फास्ट ट्र्याकअन्तर्गत डोटीमा निर्माण हुने पाँचवटा पुलका लागि ५४ करोड २७ लाख रुपैयाँ लागत अनुमानसहित ठेक्का आह्वान गरिएको छ।
फास्ट ट्र्याकअन्तर्गत सायलिगाड, जारिमघाट खोला, गुणगाडी (गुनडी) खोला, हानीगाड (हौँनेगाड) खोला र सानीगाड पुल निर्माणका लागि बिहीबार ठेक्का आह्वान गरिएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका विज्ञ सल्लाहकार इन्जिनियर दिनेश रावतले जानकारी दिए।
उनका अनुसार सायलिगाड र जारिमघाट खोला पुल ६०–६० मिटर, गुणगाडी (गुनडी) खोला पुल ५० मिटर, हानीगाड (हौँनेगाड) खोला पुल २५ मिटर तथा सानीगाड पुल ६० मिटर लामो हुनेछन्।
यीबाहेक फास्ट ट्र्याकमा पर्ने थप दुई पुलको ठेक्का यसअघि नै आह्वान भइसकेको छ। सेरागाड खोला पुल ५० मिटर र बिछन्द खोला पुल ६० मिटर लामो छन्। सडक विभागको पुल महाशाखाले ती दुई पुलको ठेक्का असार ३२ गते आह्वान गरेको रावतले बताए।
यस्तै २५ मिटर लामो तेबेली खोला पुल र २० मिटर लामो बल्लेगाडा नदी पुल भने ठेक्का प्रक्रियामा छन्।
यससँगै फास्ट ट्र्याकअन्तर्गत डोटी खण्डमा पुल निर्माणको कामले गति लिन थालेको छ। रावतका अनुसार अहिलेसम्म पुलतर्फ करिब ८० करोड रुपैयाँ र सडकतर्फ १ अर्ब ५१ करोड रुपैयाँ बराबरका ठेक्का प्रक्रिया अगाडि बढिसकेका छन्।
डोटीको दिपायलसम्म पुग्ने फास्ट ट्र्याकको बाँकी १७ किलोमिटर सडकका लागि भने करिब १३० करोड रुपैयाँ स्रोत सुनिश्चित गर्नुपर्ने देखिएको छ। स्रोत सुनिश्चितताका लागि पूर्वाधार विकास मन्त्रीस्तरीय निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको रावतले जानकारी दिए।
फास्ट ट्र्याकको काम अगाडि बढाउन रास्वपा डोटीको टोली करिब एक महिनादेखि काठमाडौंमा सक्रिय थियो। पार्टीको जिल्ला कार्यसमितिले डेलिकेसनसहित पूर्वाधार विकास मन्त्री लम्सालसँग सडक तथा पुलको ठेक्का प्रक्रिया अगाडि बढाउन निरन्तर छलफल गर्दै आएको थियो।
रास्वपा डोटीका सभापति केशव बलायरले आर्थिक वर्ष २०८३/०८४ भित्र डोटीको दिपायलसम्म फास्ट ट्र्याक पुर्याउने लक्ष्यसहित सरकारसँग आवश्यक बजेट व्यवस्थापनका विषयमा छलफल भएको बताए।
‘मन्त्री लम्सालसँगको छलफलमा यसै आर्थिक वर्षभित्र फास्ट ट्र्याक निर्माणका लागि २०० देखि ३०० करोड रुपैयाँसम्म सरकारले व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभएको थियो,’ बलायरले भने, ‘ठेक्का प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित कर्मचारीलाई निर्देशनसमेत दिनुभएको थियो।’
फास्ट ट्र्याक निर्माणलाई आफ्नो पार्टीले डोटीका नागरिकका प्राथमिक मागमध्ये एकका रूपमा उठाउँदै आएको बलायरको भनाइ छ। गाउँका समस्या गाउँमै पुगेर सुन्ने अभियानका क्रममा स्थानीयले फास्ट ट्र्याकलाई प्रमुख मागका रूपमा उठाएपछि यसलाई प्राथमिकतामा राखिएको उनले बताए।
रास्वपा डोटीका सहसचिव तथा संगठन विभाग प्रमुख डिल्लीराज भट्टले पुलको ठेक्का आह्वान भएपछि आफूहरू जिल्ला फर्किन लागेको बताए।
उनका अनुसार मन्त्री लम्सालले बाँकी सडकका लागि स्रोत सुनिश्चितताको कामसमेत चाँडै हुने आश्वासन दिएका छन्।
‘हामीलाई ठेक्का सूचना आह्वान भएपछि मात्र घर जानुहोला भन्नुभएको थियो। आज बोलाएर अब तपाईंहरू ढुक्क भएर जिल्ला फर्किनुहोस् भन्नुभएको छ,’ भट्टले भने, ‘स्रोत सुनिश्चितता पनि चाँडै हुन्छ भन्नुभएको छ।’
पाँच पुलको ठेक्का आह्वानसँगै डोटीको फास्ट ट्र्याक निर्माणको प्रक्रिया थप अगाडि बढेको र बाँकी सडकखण्डका लागि स्रोत सुनिश्चितताको प्रक्रिया पनि अघि बढिरहेको रास्वपा डोटीले जनाएको छ।
भट्टले फास्ट ट्र्याक निर्माणको प्रक्रियामा सहयोग गर्ने नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, पार्टी सभापति रवि लामिछाने, केन्द्रीय सदस्य जानीका जोशी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकरण भट्टसहित डोटेली नागरिक, राजनीतिक दल, बुद्धिजीवी, युवा, महिला, नागरिक समाज र सञ्चारकर्मीप्रति धन्यवाद व्यक्त गरे।
अब फास्ट ट्र्याकको कामपछि डोटीको खप्तड क्षेत्रको पर्यटन विकासलाई प्राथमिकतामा राखेर अभियान सञ्चालन गर्ने सभापति बलायरले बताए।