हिमेश बिक
सुखड २७ जेष्ठ /कैलालीको घोडाघोडी नगरपालिकाले आफ्नो भवन निर्माणको जग्गा छनौटका बिषयमा सम्बन्धित सरोकारवाहरु संग छलफल गरेको छ ।
नगर उप–प्रमुख प्रेम कुमारी थापाको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बिभिन्न राजनीतिक दल, शिक्षक, समाजसेवी, बुद्धीजिवीहरु सहभागी भए पनि कार्यक्रममा सहभागी हुनै पर्ने ठानिएका शिवशक्ति सामुदायिक वनका प्रतिनिधीहरु भने सहभागी भएनन् ।
नगरपालिकाले उक्त वन क्षेत्रमा पर्ने सुखडको हेलिप्याडमा आफ्नो भवन निर्माण गर्ने भन्दै डिपिआर समेत निर्माण गरीसकेको छ । तर नगरपालिकाले आफुहरु संग कुनै समन्वय र सहमती नगरी एक तर्फी ढंगबाट काम गर्न थालेको भन्दै वनका प्रतिनिधी तथा उपभोक्ताहरुले बिरोध जनाए पछि थप समस्या उब्जीएको हो ।
भवन निर्माणका लागि नगरपालिकाले डिपिआर निर्माण संगै भवन निर्माणको ठेक्का प्रक्रियामा समेत अघि बढीसकेको छ । गत जेष्ठ २० गते नगरपालिकाले यसको टेन्डर समेत आह्वान गरीसकेको भए पनि जग्गाको भने हाल सम्म पनि टुंगो लागेको छैन । श्रोतका अनुसार नगरको समन्वय नभए पनि सामुदायिक वनका ९८ प्रतिशत उपभोक्तले जग्गा दिन तयार भएको र केहीले मात्र अवरोध गरेका छन ।
सबै प्रक्रिया अघि बढी सक्दा समेत भवन निर्माणको जग्गा छनौटको समस्या समाधान हुन नसके पछि अन्तत जनताहरु संग सुझाव संकलन गर्न थालेको धेरैको बुझाई छ । यस बिषयमा शुरुवाती चरणमै सर्बपक्षिय छलफल गर्नु पर्ने आवश्यकता भए पनि नगरपालिकाले ढिलो गरी मात्र छलफल गरेको धेरैको प्रतिक्रिया रहेको छ । डिपिआर गरी आयोजनाको टेन्डर समेत आह्वान भईसकेको अवस्थामा जनताहरु संग जग्गा छनौटको बिषयमा छलफल गर्नु गलत अभ्यास भएको भन्दै सहभागीहरुले अलोचना समेत गरेका छन ।
सहभागीहरुले घोडाघोडीमा रहेका सबै सरकारी कार्यालयहरु एकै स्थानबाट संचालन हुने गरी अघि बढ्नु पर्ने, भवन निर्माण तोकीएकै स्थानमा बन्नु पर्ने, सामुदायिक वन संग समन्वय गर्नु पर्ने, हेलिप्याडको पश्चिम पट्टी रहेको डोडा नदिको जग्गा ब्यवस्थापन गर्नु पर्ने सुझाव दिएका छन भने कतीपयले स्थान परिवर्तन गरी सुखड र साडेपानीको बिचमा पर्ने वन तथा लक्ष्मीपुरको वनमा नगरको भवन निर्माण गर्नु पर्ने सुझाव दिएका छन । यद्धपी लामो छलफलबाट पनि कुनै निचोड भने निस्किएन ।
कार्यक्रममा घोडाघोडी नगरपालिकाका ईन्जिनियर अशोक जोशीले नगरको निर्माण हुने भवनको नक्साको भिडियो सार्वजनिक गर्दै अपांग र वाल मैत्री भवन निर्माण हुने बताउनु भयो । छलफल कार्यक्रम समापन गर्दै उप प्रमुख थापाले सबै संग छलफल गर्दै सुझाव संकलन सहित अघि बढ्ने बताउनु भयो ।