धनगढी, ७ असोज / हुन्डाईको नयाँ पुस्ताको कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यू’ धनगढीमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ।
हुन्डाईको धनगढीस्थित सोरुममा आयोजित कार्यक्रममा नयाँ भेन्यू सार्वजनिक गरिएको हो। नयाँ भेन्यूसँगै धनगढी तथा सुदूरपश्चिमका ग्राहकले गाडीका नयाँ डिजाइन, प्रविधि, आराम र सुरक्षाबारे नजिकबाट जानकारी लिन पाउने भएका छन्।
नयाँ भेन्यूको बाहिरी बनावटलाई आकर्षक र बलियो स्वरूप दिइएको छ। गाडीमा आकर्षक एलईडी डे–टाइम रनिङ लाइट, पछाडिको एलईडी बत्ती, गाढा क्रोमयुक्त अगाडिको ग्रिल र विशेष सी–पिलर सजावट राखिएको छ।
गाडीको भित्री भागमा १०.२५ इन्चको सूचना तथा मनोरञ्जन प्रणाली, ताररहित एप्पल कारप्ले र एन्ड्रोइड अटो, डिजिटल उपकरण प्यानल तथा विद्युतीय सनरुफलगायतका सुविधा उपलब्ध छन्।
पर्फर्मेन्सका लागि नयाँ भेन्यूमा १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प दिइएको छ। ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार इन्जिन तथा भेरियन्ट छनोट गर्न सक्नेछन्।
सुरक्षाका लागि गाडीमा छवटा एयरब्याग, एबीएससहित विद्युतीय ब्रेक वितरण प्रणाली, विद्युतीय स्थिरता नियन्त्रण, गाडीको स्थिरता व्यवस्थापन प्रणाली र उकालोमा गाडी पछाडि नझर्ने सहायता प्रणाली उपलब्ध छन्।
नेपाली बजारमा नयाँ भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। यो गाडी एचएक्स–२, एचएक्स–५ प्लस र एचएक्स–५ डीसीटी गरी तीन भेरियन्टमा उपलब्ध छ। एचएक्स–२ र एचएक्स–५ प्लसमा १ हजार १९७ सीसी पेट्रोल इन्जिन तथा एचएक्स–५ डीसीटीमा ९९८ सीसी पेट्रोल इन्जिन रहेको छ।
सोरुम इन्चार्ज दिपेन्द्र ओझाले नयाँ भेन्यू ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राखेर ल्याइएको बताए। उनका अनुसार धनगढीस्थित सोरुममा गाडी उपलब्ध भइसकेकाले ग्राहकले सोरुममै पुगेर यसको विशेषताबारे जानकारी लिन तथा गाडीलाई नजिकबाट हेर्न सक्ने समेत बताए। सार्वजनिक गरिएकै दिन गाडी ग्राहकले बुकिङ समेत गरेका छन्।
नयाँ भेन्यू सार्वजनिक कार्यक्रममा उद्योग वाणिज्य सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवर प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा उद्योग वाणिज्य सङ्घ कैलालीका अध्यक्ष पुष्करराज ओझा लगायत उद्योग वाणिज्य सङ्घ कैलालीका पदाधिकारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।