धनगढी, ६ असोज / सेती प्रादेशिक अस्पतालमा ३ महिनाको शिशुलाई झुक्किएर ९ महिनामा लगाउने खोप लगाएपछि शिशुलाई अस्पतालको निगरानीमा राखिएको छ ।
धनगढी उपमहानगरपालिका–३ मित्रनगरकी पूर्णिमा शर्मा आफ्नो ३ महिनाको शिशुलाई नियमित खोप लगाउन सोमबार बिहान करिब साढे १० बजे सेती प्रादेशिक अस्पताल पुगेकी थिइन् । खोप लगाउने क्रममा लाइनमा बसेकी शर्माको पालो आएपछि खोप लगाउने स्वास्थ्यकर्मीले झुक्किएर अर्कै ९ महिनाको शिशुको खोप कार्ड हेरेर ३ महिनाको शिशुलाई ९ महिनामा लगाउने दादुरा–रुबेला खोप लगाइदिएको आफन्तले बताएका छन् ।
खोप लगाएपछि शिशुको स्वास्थ्यमा समस्या देखिएको आफन्तको भनाइ छ । त्यसपछि शिशुलाई अस्पतालमै राखेर चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।
यस विषयमा सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. हेमराज पाण्डेसँग जानकारी लिँदा उनले घटनाबारे आफूलाई जानकारी भएको बताए । उनका अनुसार खोप लगाउने क्रममा भुलवश यस्तो घटना भएको हो ।
अहिले शिशुलाई विशेषज्ञ चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको र अवस्था सामान्य रहेको डा. पाण्डेले बताए । उनका अनुसार अहिले अवस्था त्यति जटिल नरहेकाले आत्तिनुपर्ने अवस्था छैन ।
आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अस्पताल प्रशासनले बैठक बसेर स्वास्थ्यकर्मीलाई भिडभाडको समयमा थप चनाखो भएर काम गर्न निर्देशन दिने तयारी गरेको डा. पाण्डेले बताए । साथै खोप लगाउने स्थानमा हुने भिड व्यवस्थापनका लागि पनि आवश्यक व्यवस्था गरिने उनले बताए।