दार्चुला, ५ असोज / सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री खगराज भट्टलाई ज्ञापनपत्र बुझाइएको छ ।
जमिन धसिँदा दार्चुलाको व्यास गाउँपालिका–४, मडगाउँस्थित खर्क, पन्ताली र गुम्पानी बस्ती विस्थापित भएपछि बस्ती पुनस्र्थापनाका लागि भट्टलाई ज्ञापनपत्र बुझाइएको हो ।
जमिन निरन्तर धसिँदै गएपछि मडगाउँस्थित खर्क बस्ती पूरै विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले जानकारी दिए । २५ परिवार रहेको बस्ती विस्थापित भएपछि बस्ती पुनस्र्थापनाको माग गर्दै मुख्यमन्त्री भट्टलाई गाउँपालिका र स्थानीयको तर्फबाट ज्ञापन बुझाइएको गाउँपालिकाका अध्यक्ष मङ्गलसिंह धामीले जानकारी दिएका छन् ।
जमिन भासिएको क्षेत्रमा तत्काल प्राविधिक र भौगर्भिक अध्ययन गराई जोखिमको अवस्था पहिचान गर्न र प्रभावित परिवारको क्षतिको विस्तृत मूल्याङ्कन गरी पुनस्र्थापनाको व्यवस्था गर्न माग गरेको उनको भनाइ छ ।
उनका अनुसार प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन जोखिम न्यूनीकरण तथा संरक्षणका कार्यक्रम प्रदेश सरकारमार्फत सञ्चालन गर्न आवश्यक बजेट उपलब्ध गराउनुपर्ने माग राखेको अध्यक्ष धामीले बताए । जोखिममा रहेका घरपरिवारलाई आवश्यकता अनुसार सुरक्षित स्थानमा स्थानान्तरण र पुनस्र्थापना गर्न मुख्यमन्त्री भट्टमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।
अध्यक्ष धामीका अनुसार अहिले पनि जमिन धसिने क्रम रोकिएको छैन । खर्क बस्तीका १८ वटा घर पूर्ण रूपमा चर्किएका छन् भने १० वटा घर भत्किएका छन् । बस्तीका मानिसलाई सुरक्षित स्थानमा राखेर तत्कालका लागि गाउँपालिकाले टेन्टको व्यवस्था गरेको छ । दुई–तीन वटा घरबाट अन्नपातसमेत निकाल्न नसकिएकाले परिवारमा खाद्यान्नको समस्या सिर्जना भएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सुरक्षित बस्ती व्यवस्थापनका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत जानकारी गराइसकिएको बताए । गाउँपालिकाले क्षतिको विवरण तथा प्रभावित परिवारको तथ्याङ्क सङ्कलन थालेको छ ।
बस्ती जोखिममा परेकाले तत्काल स्थलगत निरीक्षण गरी जोखिमको मूल्याङ्कन गर्नुपर्ने र प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने व्यास गाउँपालिका–४ का वडाध्यक्ष झुनसिंह विष्टले बताए । मडगाउँस्थित खर्क बस्ती जोखिममा परेपछि प्रतिनिधि सभा बैठकमा दार्चुलाका प्रतिनिधि सभा सदस्य गणेशसिंह ठगुन्नाले बस्ती स्थानान्तरणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।