धनगढी, ५ असोज / टीकापुरबाट रसुवास्थित जलविद्युत् आयोजनामा श्रम गर्न गएर बाढीमा बेपत्ता भएका श्रमिकको पारिश्रमिक आएको छ । टीकापुर नगरपालिका-१ का वडाध्यक्ष मोहन विकको रोहवरमा पारिश्रमिक वितरण गरिएको छ ।
आयोजनाका लागि कामदार आपूर्तिकर्ता तुलाराम चौधरीले निर्माण कम्पनीबाट कामदारले श्रम गरेको अवधिको पारिश्रमिक ल्याएर आइतबार टीकापुरमा रहेका श्रमिकका परिवारलाई वितरण गर्नुभएको छ । पारिश्रमिकबापतको पैसा लिन बोलाए पनि बाढीमा बेपत्ता भएका श्रमिकका परिवार मलिन अनुहार र आफन्तको खबर सुन्न आतुर भएर टीकापुर नगरपालिका-१, समितिपुर पुगेका थिए ।
टीकापुर नगरपालिका–५ बाट बेपत्ता हुनुभएका ठगराम चौधरीका छोरा कमल चौधरी बुवाको सासको आशा मरेको तर लास भए पनि छिटै पाउने प्रतीक्षामा रहेको बताए । २० महिनाअघि दक्षिण कोरिया जानुभएका कमल बुवा भोटेकोशीको बाढीमा परेर बेपत्ता भएको खबर सुनेपछि नेपाल फर्किनुभएको थियो । उहाँ भन्नुहुन्छ, “हरेक दिन शव फेला परेको सुन्दा मेरो बुवा पनि त्यसैमा हुनुहुन्छ कि जस्तो लाग्छ । पाँच जनाको दुई लाख १४ हजार हजार ४८७ रुपियाँ पारिश्रमिक लेखिएको संयुक्त चेक पाएको छु तर मेरो ध्यान मेरै बुवाको खबर कतिबेला आउँछ भन्नेमा छ । यसको जवाफ पाइरहेको छैन ।” टीकापुर नगरपालिका शक्तिनगरका दिलबहादुर चौधरीकी श्रीमती यशोदा चौधरी पनि श्रीमान् बेपत्ता भएको पीडामा हुनुहुन्छ ।
असार ३० गते रसुवा जानुभएका दिलबहादुरको डेढ महिनाको ज्याला भनेर उहाँले ६० हजार रुपियाँ पाउनुभएको छ । अहिले ज्यालाको भन्दा पनि हाम्रा मान्छेको खबर पाउन आतुर छौँ । यस्तै कमैया शिविरका दीपक चौधरीकी श्रीमती मीना चौधरी पनि श्रीमान्को खबर नपाउँदा अरू पाउने नपाउने कुरा नसोचेको बताउनुहुन्छ ।
पोखरा छिङहवा कन्स्ट्रक्सनले यहाँका ४७ जना कामदारले काम गरेको अवधिको १८ लाख ७६ हजार ५७३ रुपियाँ आफ्नो खातामा हालिदिएपछि तिनका परिवारलाई बुझाउन आएको कामदार आपूर्तिकर्ता तुलाराम चौधरीले बताए । यसरी ज्याला पाउनेमा १४ जना बाढीग्रस्त क्षेत्रबाट फर्केर आएका कामदार छन् भने ३३ जना बेपत्ता श्रमिकका परिवार छन् । बेपत्ता भएकामा २५ जना टीकापुर नगरपालिका, चार जना जानकी गाउँपालिका र चार जना बर्दियाको गेरुवा गाउँपालिकाका कामदार छन् । उहाँ भन्नुहुन्छ, “अहिले काम गरेको अवधिको निर्माण कम्पनीले दिएको तलब हो । कामदारको बिमाबापतको रकमबारे कुरा भइरहेको छ ।”