धनगढी, १८ भदौ/ रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै धनगढीका व्यवसायी महेश कुमार शाहले बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्।
धनगढीमा सञ्चालित ओम ट्रेडर्स डिपार्टमेन्टल स्टोर, वेल्स क्याफे, टु स्टप वर्कसप र ओम प्यालेसका महाप्रबन्धक तथा निर्देशक शाहले ती संस्थाहरूको तर्फबाट संयुक्त रूपमा एक लाख १० हजार रुपैयाँ सहयोग गरेका हुन्।सामाजिक उत्तरदायित्वअन्तर्गत विपत्तिमा परेका नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको शाहले बताए।
उनले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध होस् भन्ने कामना गरेका छन्। विपत्तिको यस घडीमा पीडितहरूको उद्धार तथा राहतका लागि सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्नसमेत शाहले अपिल गरेका छन्।