धनगढी १८ भाद्र/भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि धनगढीका व्यवसायी जयशंकर ठाकुरले ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। ठाकुरले सञ्चालन गर्दै आएको प्रेमा एग्रो इन्डस्ट्रिजका तर्फबाट उक्त रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो।
देशमा विपद्का घटना हुँदा पीडित नागरिकको दुःखमा साथ दिनु सबैको सामाजिक दायित्व भएकाले आफूले सहयोग गरेको ठाकुरले बताए। उनले विपद्को यस कठिन समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको बताए।
ठाकुर धनगढी उपमहानगरपालिका–१५, कनरीस्थित ज्योति आयल स्टोर तथा प्रेमा एग्रो इन्डस्ट्रिजका सञ्चालक हुन्। उनी सुदूरपश्चिम पेट्रोलियम डिलर्स एसोसिएसनका महासचिवसमेत हुन्।
यसअघि पनि भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि धनगढीका विभिन्न व्यवसायी, संघसंस्था तथा स्थानीयवासीले आर्थिक तथा मानवीय सहयोग गर्दै आएका छन्।