धनगढी १८ भाद्र/धनगढीमा बुधबार राति करिब ९ बजेतिर एक भारतीय नागरिक ठूलो परिमाणको भारतीय रुपैयाँसहित पक्राउ परेका छन्। घरेलु कार्यालय अगाडिबाट पक्राउ परेका उनको साथबाट प्रहरीले ५ लाख भारतीय रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनी बसपार्क पछाडिको गल्लीमा पुगेका बेला ती भारतीय नागरिक अटोमा बसेको अवस्थामा भेटिएका थिए। स्थानीय सुशीला नाम बताउने महिलाका अनुसार ती व्यक्तिले आफू आत्तिएको भन्दै ‘मेरो पछाडि मान्छे लागेका छन्, मलाई अप्ठ्यारो छ, प्रहरीकहाँ पुर्याइदिनुस्’ भनेर आग्रह गरेका थिए।
त्यसपछि उनलाई घरेलु चोक अगाडि पुर्याइएको र त्यहीँबाट प्रहरीलाई खबर गरिएको उनले बताइन्। केही समयपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो।
पक्राउ पर्ने भारतीय नागरिकले आफ्नो नाम अमरेन्द्र सिंह र पन्जावको पटियाला घर भएको बताएका छन्। उनका अनुसार उनी धनगढीस्थित साथी होटलमा रहेको किङ्स लाउन्ज क्यासिनोबाट बुधबार साँझ निस्किएका थिए। क्यासिनोबाट बाहिरिएपछि आफूलाई एक जना व्यक्तिले पछ्याएको उनको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले अमरेन्द्र सिंहको साथबाट ५ लाख भारतीय रुपैयाँ भेटिएको पुष्टि गरेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्रै विस्तृत विवरण सार्वजनिक हुने उनले जानकारी दिए।
स्रोतका अनुसार अमरेन्द्र सिंह धनगढी आउनुअघि कञ्चनपुरका विभिन्न क्यासिनोमा समेत जाने तथा खेल्ने गरेको र धनगढीका अन्य क्यासिनोमा समेत प्रवेश गरेको दाबी गरिएको छ। उनी मंगलबारदेखि धनगढीस्थित किङ्स लाउन्ज क्यासिनोमा खेल्दै आएको र बुधबार साँझ त्यहाँबाट निस्किएको स्रोतको भनाइ छ।